दुर्गम क्षेत्रमा उद्धार कार्य तीब्र

  • 27 अक्टोबर 2015
Image caption भूकम्पपछि गएको पहिरोका कारण बाटो बन्द हुँदा राहत तथा उद्धार कार्य प्रभावित भएको छ

सोमबारको भूकम्पबाट प्रभावित अफगानिस्तान र पाकिस्तानका दुर्गम ईलाकाहरुमा राहत तथा उद्धार कार्यलाई तिब्र पारिएको छ।

७.५ म्याग्नीट्यूडको उक्त भूकम्पमा झण्डै ३६० जनाको ज्यान गएको थाहा भएको छ। मारिनेमा धेरै जसो पाकिस्तानका छन्।

शांगला क्षेत्रको भ्रमण गरेका पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले, भूकम्प पिडीतहरुको उद्धारका निम्ती पाकिस्तान सक्षम रहेको बताएका छन्।

उद्धार टोलीहरुलाई विकट हिमाली क्षेत्रतर्फ पठाइएको छ जहाँ भूकम्पको क्षति कति भयो भने यकिन बिवरणहरु अझै आइसकेका छैनन्।

निर्देशन

कतिपय भूकम्प प्रभावित क्षेत्रमा नियन्त्रण जमाएको तालिवान समूहले, सहायता संस्थाहरुलाई त्यस क्षेत्रमा पठाइने राहत सामग्रीलाई नरोक्न भनेको छ।

एक जना तालेबानी प्रवक्ताले पिडितहरुलाई सहयोग गर्न आफ्ना लडाकूहरुलाई निर्देशन दिइएको बताएका छन्।

त्यस क्षेत्र भरी नै परकम्पको आशंकामा रहेका कतिपय पिडीतहरु दास्रो दिन पनि खुला आकाशमुनी चिसोमा रात विताउन बाध्य छन्।

आह्वान

सिमापारी अफगानिस्तानमा एउटा टेलिभिजन सम्बोधनमा बोल्दै राष्ट्रपति अशरफ गनीले प्रभावित क्षेत्रमा रहेका मानिसहरुलाई एकआपसलाई सहयोग गर्न आह्वान गरेका छन्।

बडाकशान प्रान्तका गभर्नर शाह वलिउल्लाह अदीबले भनेका छन् पीडीत र क्षतिहरुको विवरण संकलन गर्ने टोलीहरुलाई मंगलबार थप दुर्गम भेगतिर पठाइएको छ।

पहिरोले बाटो अवरुद्ध भएका त्यस क्षेत्रसम्म पुग्न हेलिकप्टरहरुको आवश्यकता रहेको उनले बताएका छन्।