राष्ट्रपतिमा कांग्रेस र एमालेकै उम्मेदवारी

  • 27 अक्टोबर 2015
Image caption नयाँ राष्ट्रपतिको चयनसँगै पुरानो राष्ट्रपतिको कार्यकाल स्वत: सकिने छ

बुधबार हुने राष्ट्रपति निर्वाचनका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले दुबैले आ-आफ्नो तर्फबाट उम्मेदवारी दर्ता गराएका छन्।

यसअघि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन एकैपटक हुने भनिए पनि बुधबार राष्ट्रपति र आउँदो शनिबार उपराष्ट्रपतिको हुने गरि बुधबार कार्यतालिका संशोधन गरिएको संसद सचिवालयले जनाएको छ।

बुधबार चुनावो समयसम्म सत्ता साझेदार दलहरुको समिकरणमा फेरबदल नभए साँझा उम्मेदवार रहेकी नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी नयाँ राष्ट्रपतिमा निर्वाचित हुने देखिएको छ।

सम्भावना

राष्ट्रपतिको चुनावका लागि कांग्रेसका तर्फबाट कुलबहादुर गुरुंग र नेकपा एमालेका तर्फबाट विद्या भण्डारीले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन्।

बुधबार हुने चुनाव र नयाँ राष्ट्रपति घोषणाको प्रक्रियाबारे संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले भने, "बुधबार ११ बजेदेखि १ बजेसम्म चुनाव हुन्छ त्यसपछि मतगणना र अनि ५ बजे संसदको बैठकले राष्ट्रपति घोषणा गर्छ।"

चुनावमा अहिलेसम्म एमाले उपाध्यक्ष भण्डारीलाई सत्तासाझेदार एकीकृत माओवादी, राप्रपा नेपाललगायत केही साना दलहरुको समर्थन रहेको देखिन्छ।

कांग्रेसका पूर्वमहामन्त्री गुरुगंको पक्षमा अन्य दलहरुले स्पष्ट रुपमा समर्थन घोषणा गरिसकेका छैनन्।

यसअघि प्रधानमन्त्री चयनका बेला चुनावमा भाग लिएर कांग्रेसको पक्षमा मतदान गरेका आन्दोलनरत तराई केन्द्रीत मोर्चाले भोलिको चुनावमा भाग नलिने बताएपछि कांग्रेसको सम्भवना लगभग नरहेको जस्तो देखिएको छ।

तैपनि किन चुनावमा उठ्न खोजेको भन्ने प्रश्नमा कांग्रेसका प्रवक्ता दिलेन्द्र बडूले भने, "आदिवाशी, जनजाति, मधेशलगायत सबैले आफ्नो भोट नेपाली कांग्रेसले अघि सारेको उम्मेदवारलाई हाल्छन् भन्ने विश्वासमा हामीले भोट दिएका छौं।"

समर्थन

राष्ट्रपतिमा महिलालाई उठाएको नेकपा एमालेले उपराष्ट्रपति फरक लिंग र समुदायको उम्मेदवारलाई समर्थन गर्ने बताएको छ।

संविधानको संक्रमणकालीन धारा उक्त विषयमा मौन रहे पनि संविधानको मुल भावना त्यस्तै रहेको एमालेका सचिव प्रदिप ज्ञवालीले बताए।

उनले भने, "अब अक्षरमा त्यो उल्लेख नभए पनि भावनाले राज्यका सर्वोच्च पदहरुमा समावेशी प्रतिनिधित्व गराउ भन्ने हो त्यसैले संक्रमणकालीन व्यवस्था भन्दा पनि त्यो पक्षलाई ध्यानमा राख्नु ठीक हुन्छ भन्ने सोच हो।"

प्रतिपक्षमा रहेको कांग्रेसले उपराष्ट्रपतिमा पनि दाबी गरिरहेका बेला आज संसदले दलहरुसँगको समर्थनमा उपराष्ट्रपतिको चुनाव भने १३ गतेका लागि तय गरेको छ।

एकीकृत माओवादीले आफ्नो तर्फबाट पूर्व कमाण्डर नन्दकिशोर पुन: र नेपाली काँग्रेसले आफ्नो तर्फबाट मधेशी समुदायका अमियकुमार यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने बताएको छ।