आज राष्ट्रपतीय निर्वाचन

  • 28 अक्टोबर 2015
तस्वीर कपीराइट prakash timalsina
Image caption राष्ट्रपति चयनका लागि संसदमा गोप्य मतदान हुने संवैधानिक व्यवस्था छ

गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति चयनका लागि संसदमा आज मतदान हुँदैछ।

सत्ता साझेदार दलका तर्फबाट नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी र प्रतिपक्षी नेपाली काँग्रेसबाट पूर्व महामन्त्री कुलबहादुर गुरुङ राष्ट्रपति पदको चुनावी दौडमा छन्।

आज दिउँसो हुने गोप्य मतदानको नतिजा साँझ ५ बजे संसदको बैठकमा घोषणा गरिने अधिकारीहरुले बताएका छन्।

दलहरुबीच सहमतिमा राष्ट्रपतिका उम्मेदवार चयन हुन नसकेपछि बहुमतीय प्रक्रियाबाट राष्ट्रपतिको चयन हुन लागेको हो।

उम्मेदवारी

उक्त चुनावका लागि सत्ताको बागडोर सम्हालेको नेकपा एमालेका तर्फबाट पार्टी उपाध्यक्ष विद्या भण्डारी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट पूर्व महामन्त्री कुलबहादुर गुरुङले उम्मेद्वारी दर्ता गराएका छन्।

संसद सचिवालयका महासचिव मनोहर भट्टराईले भने, “आज दिउँसो ११ बजेबाट राष्ट्रपति पदको चुनावी प्रक्रिया शुरु हुनेछ, १ बजे प्रक्रिया सम्पन्न हुनेछ।”

दिउँसो हुने गोप्य मतदानको नतिजा साँझ बस्ने संसदको बैठकले घोषणा गर्नेछ।

उक्त घोषणासँगै गणतन्त्र स्थापना भएदेखि निरन्तर राष्ट्रपतिको पदमा रहेका रामवरण यादवको कार्यकाल सकिने छ।

यसअघि राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा मधेशी समुदायका व्यक्ति रहेपनि यसपटक भावी राष्ट्रपति पदमा एक जना महिला र अर्का जनजातिले प्रतिस्पर्धा गर्दैछन्।

बलियो

चर्चित दासढुङ्गा काण्डमा आफ्ना श्रीमान नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी गुमाएपछि सक्रिय राजनीतिमा प्रवेश गरेकी भण्डारीले लगत्तै भएका संसदीय चुनावहरुमा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराइ र पूर्व सभामुख दमननाथ ढुंगानालाई हराएकी थिइन्।

राष्ट्रपति पदका अर्का उम्मेदवार गुरुङ २००७ सालको क्रान्तिदेखि निरन्तर सक्रिय राजनीतिमा छन् र जेष्ठ सदस्यको हैसियतमा उनले नेपाललाई गणतन्त्र घोषणा गरेको संविधानसभाको पहिलो बैठकको अध्यक्षता गरेका थिए।

एकीकृत माओवादी सहितका सत्ता साझेदार दलको सझा उम्मेदवार भनिएकी भण्डारी तराइ केन्द्रित दलले चुनावी प्रकियामा भाग नलिने बताइरहँदा कांग्रेसका उम्मेदवारभन्दा बलियो देखिएकी छन्।