भण्डारी देशको पहिलो महिला राष्ट्रपति

  • 28 अक्टोबर 2015
तस्वीर कपीराइट keshab thokar

नेपालको इतिहासमा पहिलोपटक एक जना महिला देशको सर्वोच्च पदमा निर्वाचित भएकी छन्।

संसदमा बुधवार भएको मतदानबाट गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रुपमा नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी चुनिएकी हुन्।

सत्ता साझेदार दलहरुको समर्थन पाएकी उनले सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका उम्मेदवारलाई पछि पारेकी हुन्।

राष्ट्रपतिमा निर्वाचित भएपछि भण्डारीले राष्ट्रिय एकतामा जोड दिदैँ उनले समृद्ध नेपाल निर्माणमा सबैको भूमिका हुने बताइन्।

महिला

सोमबार संसदले सात वर्ष अघि गणतन्त्र आएपछि राष्ट्रपति बनेका रामवरण यादवको उत्तराधिकारी चयन गरेको हो।

संयोग नै मान्नुपर्छ, नेपालको इतिहासमा पहिलो पटक महिला राष्ट्रपति निर्वाचित भएको घोषणा, पूर्व छापामार पृष्ठभूमि हुँदै संसदको सभामुख पदसम्म आइपुगेकी अर्की महिला नेतृ ओनसरी घर्तीले गरिन्।

संसदमा हाल कायम ५ सय ९७ सदस्य संख्याको बहुमत पुर्याउने क्रममा भण्डारीले ३ सय २७ मत ल्याइन्।

पहिलो संविधानसभाबाट चुनिएका राष्ट्रपति र उपराष्ट्रपति दुवै तराईबाट थिए।

तर दोस्रो संविधानसभाले नयाँ संविधान कार्यान्वयनमा आएपछि सबैभन्दा माथिल्लो संवैधानिक पद र व्यवस्थापिकाको प्रमुखमा महिला निर्वाचित भएका हुन्।

राष्ट्रपतिमा चुनिएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ भण्डारीले आफ्नो विजय सम्पूर्ण नेपालीको जित भएको बताइन्।

देशको सार्वभौमिकता र अखण्डता जगेर्ना गर्न सबैको एकतामा जोड दिदैँ उनले भनिन्, “समृद्ध नेपाल निर्माणका लागि नयाँ संविधान अघि बढनेछ, त्यसमा हामी सबैको भूमिका हुनेछ।”

सपथ

संसद भवनको ल्होत्से हलमा भएको गोप्य मतदानमा खसेको कुल ५ सय ४१ सदर मत मध्ये, भण्डारीका प्रतिद्वन्द्वी पाका काँग्रेसी नेता कुलबहादुर गुरुङ्गले २ सय १४ भोट पाएका थिए।

चुनावी परिणाम घोषणापछि उनले भने, “संविधान आइसकेपछिको यो अभ्यासलाई म अत्यन्तै राम्रो मान्छु, र आज(सोमबार) जुन ढंगले प्रतिस्पर्धा भयो, यो एकदम प्रजातान्त्रिक रुपमा जाओस् र जान्छ पनि भन्ने मैले विश्वास लिएको छु।”

नयाँ निर्वाचित राष्ट्रपतिको शपथ ग्रहण बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरिने अधिकारीहरुले बताएका छन्।

त्यसलगत्तै सरकारले औपचारिक कार्यक्रम गरी राष्ट्रपति रामवरण यादवको बिदाइ गर्ने बताइएको छ।