राष्ट्रपति विद्या भण्डारीद्वारा शपथ

  • 29 अक्टोबर 2015
विद्या भण्डारी तस्वीर कपीराइट angad dhakal
Image caption नवनिर्वाचित राष्ट्रपति भण्डारीले राष्ट्रिय एकतामा जोड दिएकी छिन्

नेपालकी पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित एक विशेष समारोहमा पद तथा गोपनीयताको सपथ लिएकी छन्।

बिहीबार अपरान्ह ३ बजे राष्ट्रपति भवन परिसरमा आयोजित समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले भण्डारीलाई पद तथा गोपनियताको सपथ दिलाएका थिए।

नेपाली सेनाको एक टुकडीले नयाँ राष्ट्रपतिको सम्मानमा सम्मान गारद पेश गरेको थियो।

नयाँ राष्टपतिलाई प्रधानमन्त्री केपी शर्मा ओली लगायत संवैधानिक निकायका प्रमुख, मन्त्रीहरु र विशिष्ट पाहुनाहरुले बधाइ तथा शुभकामना दिएका थिए।

दोश्रो राष्ट्रपति

संसदमा बुधबार भएको मतदानबाट गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रुपमा नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी चुनिएकी हुन्।

सत्ता साझेदार दलहरुको समर्थन पाएकी उनले सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका उम्मेदवार केबी गुरुङलाई पराजीत गरेकी थिइन्।

राष्ट्रपतिमा निर्वाचित भएपछि भण्डारीले राष्ट्रिय एकतामा जोड दिदैँ समृद्ध नेपालको निर्माणमा सबैको भूमिका हुने बताइन्।

उनले आफ्नो विजय सम्पूर्ण नेपालीको जित भएको बताइन्।

महिला

नेपालको इतिहासमै पहिलो पटक महिला राष्ट्रपति निर्वाचित भएको घोषणा हालै संसदको सभामुख पदमा निर्वाचित अर्की महिला ओनसरी घर्तीले गरेकी थिइन्।

पहिलो संविधानसभाबाट चुनिएका राष्ट्रपति र उपराष्ट्रपति दुवै तराईबाट थिए।

तर दोस्रो संविधानसभाले नयाँ संविधान कार्यान्वयनमा आएपछि सबैभन्दा माथिल्लो संवैधानिक पद र व्यवस्थापिकाको प्रमुखमा महिला निर्वाचित भएका हुन्।

बिहीबार नै एक औपचारिक कार्यक्रम गरी निवर्तमान राष्ट्रपति रामवरण यादवलाई बिदाइ गर्ने बताइएको छ।