सिरिया संकटबारे वार्ता

  • 30 अक्टोबर 2015
वार्ता
Image caption गृहयुद्धका कारण सिरियाका झण्डै आधि जनता विस्थापित भएका छन्

सिरियाली द्वन्द्वमा विभिन्न पक्षलाई सघाइरहेका सबै मुलुकहरुले द्वन्द्व समाधान गर्ने उद्देश्यले वार्ता शुरु गरेका छन्।

भियनामा शुरु भएको वार्तामा संयुक्त राज्य अमेरिका, रुस, सउदी अरेबिया र टर्कीले भाग लिइरहेका छन्।

पहिलो पटक इरानले पनि यो प्रकृयामा भाग लिइरहेको छ।

तर सिरिया सरकार वा विपक्षीहरुलाई वार्तामा बोलाइएको छैन।

भविष्य

छलफल मुख्यतया सिरियाका राष्ट्रपति बसर अल असदको भविष्यका बारेमा केन्द्रित हुने बताइएको छ।

रुस र इरानले उनलाई समर्थन गरिरहेका छन् तर पश्चिमा मुलुकहरु र तिनीहरुका अरब सहयोगीहरुले शान्तितर्फको संक्रमणका क्रममा असदले सरकार छाडनै पर्ने बताइरहेका छन्।

फ्रान्सेली विदेश मन्त्री लराँ फेबियसले भने, “इस्लामिक स्टेट र जभात अल नुस्र आतंककारी संगठनहरु विरुद्धको लडाईंलाई अरु प्रभावकारी बनाइनुपर्छ। त्यसपछि राजनीतिक संक्रमण पनि व्यवस्थित गरिनुपर्छ।“

रुस र इरानले हालै सिरियाली द्वन्द्वमा उनीहरुको सैन्य संलग्नता बढाएका छन्।

रुसले गएको महिनाको अन्त्य देखि राष्ट्रपति असदको समर्थनमा सिरियाली भूभागमा हवाइ हमला शुरु गरेको छ।

निशाना

ती हमला इस्लामिक स्टेट संगठन विरुद्ध केन्द्रित रहेको बताइएता पनि पश्चिमा समर्थन प्राप्त विद्रोहीहरुले उनीहरुलाई पनि निशाना बनाइएको जनाएका छन्।

चार वर्ष अघि असद सरकारको विरोधबाट शुरु भएको द्वन्द्व भयावह गृहयुद्धमा परिणत भएको छ।

सिरियाका विभिन्न भागमा अहिले असद सरकार, इस्लामिक स्टेट, विभिन्न सिरियाली विद्रोही संगठनहरु तथा कुर्द लडाकुहरुको नियन्त्रण कायम छ।

चार वर्ष पुरानो द्वन्द्वमा झण्डै अढाइलाख सिरियालीहरुको ज्यान गैसकेको छ भने दशलाख जति घाइते भएका छन्।

सिरियाको कूल जनसंख्याको झण्डै आधि, एक करोड दश लाख मानिसहरु तिनका घरबाट विस्थापित भएका छन्।

तीमध्ये चालिस लाख जति छिमेकी मुलुकहरु तथा युरोपमा शरणार्थीको रुपमा जीवन बिताइरहेका छन्।

भियनामा भैरहेका वार्तामा युद्धविराम तथा द्वन्द्वरत पक्षलाई संभाव्य आममाफी जस्ता विषयहरु रहेको बीबीसीले थाहा पाएको छ।

तर एकजना पश्चिमा कूटनीतिज्ञले भने, शुक्रबार शुरु भएको वार्ताबाट खासै आशावादी हुने ठाउँ देखिंदैन।

उनले भने, यो शान्ति प्रकृयातर्फको पहिलो पाइला पनि होइन।