इजिप्टमा रुसी विमान दुर्घटना

  • 31 अक्टोबर 2015
आफन्तहरु तस्वीर कपीराइट Reuters
Image caption सेन्ट पिटर्सवर्गस्थित विमानस्थलमा यात्रुका आफन्तहरुले थप समाचार पर्खिरहेका छन्

इजिप्टका अधिकारीहरुले साइनाइ प्रायद्वीपमा दुर्घटनाग्रस्त रुसी यात्रुवाहक विमानमा सवार कोही पनि नबाँचेको जनाएका छन्।

दुईसय बीसजना भन्दा बढी यात्रुहरु सवार उक्त विमान उडेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो।

रुसी राष्ट्रपति पुटिनले आइतबार एक दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् र रुसी छानबीनकर्ताहरुको एक टोली इजिप्ट पठाइएको छ।

पुष्टि

इजिप्टका प्रधानमन्त्री सरिफ इस्मेयलले इजिप्टको रेड सी रिसोर्टबाट रुसको सेन्ट पिटर्सवर्गका लागि उडेको रुसी वायुसेवाको विमान साइनाइ प्रायद्वीपमा दुर्घटनाग्रस्त भएको पुष्टि गरेका थिए।

उक्त एयरबस ए-३२१ विमान प्राविधिक गडबडीका कारण उत्तरी साइनाइस्थित अल एरिश विमानस्थलमा अवतरण गर्न खोजेको बताइएको छ।

घटनास्थलबाट प्राप्त समाचारहरुमा कैयौं शवहरु जमीनमा छरिएका र केही आफ्नै सीटमा पेटी बाँधिएको अवस्थामा रहेका जनाइएको छ।

रुसको आपत्कालिन मन्त्रलायका एकजना अधिकारी अलेक्सी एनिकिनले भने, "अहिले हामीले सेन्ट पिटर्सवर्गको पुल्कोभो विमानस्थलमा एउटा आपत्कालिन कार्य सन्चालन केन्द्र खडा गरेका छौं र सार्वजनिक व्यवस्था सुरक्षासंबन्धी कामहरु भैरहेको छ। आपत्कालिन मन्त्रालयको मनोवैज्ञानिक सेवा र अन्य सम‌ितिहरुले पनि काम गरिरहेका छन्।"

विमानमा २ सय १७ यात्रु र चालक दलका सात सदस्य रहेको जनाइएको छ।

अधिकांश यात्रुहरु रुसी पर्यटक भएको बताइएको छ।

इजिप्टका सञ्चारमाध्यमहरुले विमानको भग्नावशेष भेटिसकेको र दुर्घटनास्थलमा कम्तीमा २० वटा एम्बुलेन्स पठाइसकिएको जनाए ।

पश्चिमी साइबेरियास्थित एउटा सानो विमान कम्पनी कोगलिमाभियाले उक्त विमान सञ्चालन गरिरहेको बताइएको छ।

आशंका

कायरोस्थित बीबीसी संवाददाता ओर्ला गुयरिन भन्छिन्, साइनाइमा इस्लामावादी उग्रवादीहरु सकृय रहेकाले विमान दुर्घटनामा उनीहरुको हात त छैन भन्ने आशंका पनि उठ्नसक्छ।

तर उनी भन्छिन्, तर विमान उडीरहेको उचाइलाई हेर्दा जमीनबाट प्रहार गरिएको हुनसक्ने संभावना कमै देखिन्छ।

शुरुमा विमानबारे विरोधाभाषपूर्ण विवरणहरु आएका थिए।

कतिपय विवरणमा उक्त विमान साइप्रसमाथिको आकाशमा हराएको उल्लेख गरिएको थियो।

तर पछि इजिप्टका प्रधानमन्त्रीको कार्यालयले एउटा वक्तव्यमा रुसी गैरसैनिक विमान मध्य साइनाइमा दुर्घटनाग्रस्त भएको पुष्टि गरेको थियो।

रुसी नागरिक उड्डयन अधिकारीहरुले उक्त विमान उडेको २३ मिनट पछि साइप्रसको हवाइ यातायात नियन्त्रकहरुसंगको सम्पर्क विच्छेद भएको र त्यसपछि उक्त विमान रेडरबाट हराएको जनाएका छन्।