लडाकु कमाण्डरदेखि उपराष्ट्रपतिसम्म

  • 31 अक्टोबर 2015
तस्वीर कपीराइट prakash timalsina
Image caption बुधबार भएको राष्ट्रपतीय चुनावमा एमालेकी विद्यादेवी भण्डारी निर्वाचित भएकी थिइन्

शनिबार संसदमा भएको उपराष्ट्रपति चुनावमा एकीकृत माओवादीका नेता नन्दबहादुर पुन विजयी भएका छन्।

उनी नन्दकिशोर पुन नामबाट पनि चिनिदैं आएका छन्।

चुनावमा खसेको कुल ५ सय ४७ मतमध्ये, माओवादीका पूर्व लडाकु कमाण्डरसमेत रहेका पुनले ३ सय २५ मत पाएको सभामुख ओनसारी घर्तीले संसदसमक्ष घोषणा गरिन्।

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार अमियकुमार यादवले २ सय १२ मत प्राप्त गरे।

समर्थन

सत्तासाझेदार दलहरु नेकपा एमाले, राप्रपा नेपालसहित केही साना दलहरुको समर्थन पूर्व लडाकु कमान्डर नन्दबहादुर पुनलाइ थियो।

सशस्त्र युद्धको उद्गम थलो मानिने रोल्पा जिल्लामा जन्मिएका पुन उपराष्ट्रपति पदमा निर्वाचित भएको घोषणा हालै सभामुख भएकी ओनसरी घर्तीले गरिन्, जो पुनकै जिल्लाकी हुन्।

विक्रम संवत् २०५२ सालमा तत्कालीन माओवादीले होलरी प्रहरी चौकीमा आक्रमण गरेर सशस्त्र युद्ध सुरु गर्दा पुन सहकमान्डर थिए भने घर्ती दुई मध्यकी एक महिला लडाकू थिइन्।

तिनै घर्तीले शनिबार पुन निर्वाचित भएको घोषणा गरिन्।

उनले भनिन्, "तत्काल कायम रहेका सदस्य संख्या ५ सय ९६ को बहुमत ३ सय २५ मत प्राप्त गर्नुभएकोले नन्दबहादुर पुन नेपालको उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएकोले घोषणा गर्दछु।"

आलोचना

विकट जिल्लाको विकट गाउँमा जन्मिएका ५० वर्षीय पुन विद्यार्थी जीवनमै राजनीतिमा प्रवेश गरेका थिए।

कुनै बेला शिक्षकसमेत रहेका पुन द्वन्द्वकालमा माओवादीले खडा गरेको सेनाका कमाण्डरसमेत थिए।

करिब १७ हजारको ज्यान जाने गरि भएको सशस्त्र युद्धपछि शान्ति सम्झौतामार्फत माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि सेना समायोजनका क्रममा पुनले उल्लेख्य भुमिका खेलेको उनका समकक्षीहरु बताउँछन्।

द्वन्द्वकालका बेला निस्वार्थ छबि बनाएका भनिएका पुन शान्ति प्रक्रियामा आएपछि भने लडाकू शिविरहरुको व्यवस्थापनका क्रममा आर्थिक अनियमिततामा संलग्न भएको भन्दै आलोचित बनेका थिए।

शान्ति प्रक्रिया टुंगो लागिसकेपछि कुनै पनि लाभको पदमा नरहेका पुन त्यसताका नै दुवै मृगौला काम नलाग्ने भएर गम्भीर विरामी परेका थिए।

नेताहरु विरामी भएसँगै उपचारका लागि विदेश जाने प्रचलनमाझ बरु ज्यानै गए पनि नेपालमै उपचार गर्ने भन्दै उनी चर्चामा आएका थिए।

संघर्ष

ठूलो धनजनको क्षति हुने गरि वैशाखमा गएको विनाशकारी भूकम्पमा पुन बसिरहेको डेरामा पनि असर गरेपछि त्यसयता उनी, अस्थायी टहरामा बस्दै आएका छन्।

दोस्रो संविधानसभा चुनावमा कांग्रेस नेता गगन थापासँग काठमाडौं क्षेत्र नम्बर ४ बाट उठेका पुन पराजित भएसँगै गुमनाम जस्तै थिए।

सभासद्समेत नभएपछि राजनीतिमा निस्क्रिय जस्तै रहेका उनै पुन एकीकृत माओवादीले कुनैबेलाको कट्टर आलोचक एमाले पार्टीसँग जोडेको सत्ता नाताका कारण उच्च पदमा पुग्न सफल भएका छन्।

पुनको विजयसँगै देशले नयाँ संविधानको भावना अनुसार फरक लिंग र समुदायको राष्ट्रपति र उपराष्ट्रपति पाएको छ।

आन्दोलनरत तराई केन्द्रित दलहरुले भने राष्ट्रपति चुनावमा जस्तै उपराष्ट्रपति चयनमा पनि भाग लिएनन्।