संसदबाट आज नयाँ उपराष्ट्रपति चयन हुँदै

  • 31 अक्टोबर 2015
तस्वीर कपीराइट prakash timalsina
Image caption राष्ट्रपति वा उपराष्ट्रपति मध्ये एकमा मधेसी समुदायको प्रतिनिधित्व हुनु पर्नेमा कतिपयको जोड थियो

नयाँ संविधान जारी भएपछि आज देशले नयाँ उपराष्ट्रपति पाउन लागेको छ।

दिउँसो व्यवस्थापिका संसद भवनमा हुने उपराष्ट्रपतिको चुनावमा नेपाली कांग्रेसका समानुपातिक सभासद् सिरहाका अमियकुमार यादव र एकीकृत माओवादीका पूर्व लडाकु कमान्डर नन्दकिशोर पुन प्रतिष्पर्धामा छन्।

बुधबार नयाँ राष्ट्राध्यक्षका रुपमा महिला पाएको मुलुकले नयाँ उपराष्ट्रपतिमा फरक लिंग र समुदायको उपराष्ट्रपति पाउने भएको हो।

नव निर्वाचित उपराष्ट्रपतिले परमानन्द झालाई विस्थापित गर्ने छन्।

गैर-मधेसी

आज ११ बजेदेखि दुई बजेसम्म चुनाव हुने कार्यतालिका संसद सचिवालयले तय गरेको छ।

संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले भने, “२ बजेदेखि मतगणना शुरु हुन्छ र व्यवस्थापिका संसदको बैठकमा ५ बजे सभामुखले मतपरिणाम घोषणा गर्नुहुनेछ।”

यसअघि राष्ट्रपति र उपराष्ट्रपति दुबै पदमा मधेसी समुदायका व्यक्ति भए पनि यसपटक एउटा पदमा पनि उक्त समुदायको प्रतिनिधित्व हुने सम्भावना कमजोर देखिन्छ।

एकीकृत माओवादीका पुनलाई सत्तासाझेदार एमाले, राप्रपालगायत कतिपय साना दलका बहुमत सांसदले समर्थन गरेकाले उपराष्ट्रपतिमा कांग्रेसका उम्मेदवार यादव निर्वाचित हुने सम्भावना कमजोर देखिएका हुन्।

भागबन्डा

एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार यसअघि उपराष्ट्रपति मधेसी वा थारु समुदायबाट भए राम्रो हुने सुझाव उनको दलले एकीकृत माओवादीलाई दिएको थियो।

उनी भन्छन, “तर एकीकृत माओवादीको आफ्नो निर्णय भएकाले त्यसलाई हामीले सम्मान गरेका छौं।”

उपराष्ट्रपतिको चयनपछि अब दलहरुको ध्यान मन्त्रिपरिषद् विस्तारमा केन्द्रित हुने देखिएको छ।

सरकारको नेतृत्व गरेको एमालेलगायत, उसलाई प्रधानमन्त्री चयनमा सघाएका कतिपय साना दलहरुबीच मन्त्रालय भागबन्डाको काम निकै चुनौतीपूर्ण हुने ठानिएको छ।