बांग्लादेशमा धर्म निरपेक्षतावादी प्रकाशकको हत्या

  • 1 नोभेम्बर 2015
तस्वीर कपीराइट Focus Bangla
Image caption धार्मिक स्वतन्त्रतावादीहरुको हत्याको सिलसिला चलेपछि ढाकामा उठेको विरोध

बांग्लादेशको राजधानी ढाकामा शनिबार धर्म निरपेक्षतावादी एक प्रकाशक मारिएका छन्।

शनिबारै भएको अर्को त्यस्तै आक्रमणमा अर्का प्रकाशक र दुइ लेखक समेत घाइते भएका छन्; एकको अवस्था गम्भीर रहेको बताइएको छ।

दुवै प्रकाशक गत फेब्रुअरी महिनामा संदिग्ध इश्लामवादीबाट मारिएका नास्तिक ब्लगर अभिजित रोयसँग काम गर्थे।

राजधानी ढाकाको मुटुमै मारिएका ४३ वर्षीय फैसल अरेफीन डिपोनले धार्मिक स्वतन्त्रतावादी पुस्तकहरु प्रकाशित गर्थे जसमध्ये मारिएका बांग्लादेशी-अमेरिकी ब्लगर अभिजित रोयको पनि किताब थियो।

हठात

छुरा र चक्कु बोकेका मानिसहरुको समुह उनको कार्यालयमा हठात छिरेर सबभन्दा पहिले उनको कोठा पस्ने ढोका बन्द गरेका थिए।

त्यसपछि प्रकाशकमाथि आक्रमण भएको थियो।

त्यसअघि शनिबार नै त्यस्तै प्रकारको आक्रमणमा हतियारधारी मानिहरुले अभिजित रोय नजिक रहेर काम गरेका अरु तिनजना प्रकाशकहरुलाई चक्कु प्रहार गरेका थिए।

कट्टरपन्थी इश्लामवादीहरुले गरेको भनिएको यो धर्म निरपेक्षवादीको निर्मम हत्याको पछिल्लो घटना हो।

विरोध प्रदर्शन

बंगलादेशमै इटलीका सहायताकर्मी र जापानी पुरुषलाई पनि हालै गोली हानेर हत्या गरिएको थियो।

यि आक्रमणपछि ढाकामा विरोध प्रदर्शन शुरु भएको छ।

अल कायदाको स्थानीय सहयोगी अन्सर अल इश्लामले उक्त आक्रमणको जिम्मा लिएको छ।

फेब्रुअरी यता बांग्लादेशमा अभिजित बाहेक अरु त्यस्तै दुइ ब्लगरको पनि हत्या गरिएको थियो।