'मोर्चाले अर्को वार्तासम्म मात्रै सरकारलाई कुर्ने'

  • 1 नोभेम्बर 2015
तस्वीर कपीराइट ram sarraff
Image caption मोर्चा र सरकारी वार्ता टोलीबीच यसअघि पटकपटक औपचारिक र अनौपचारिक बैठक भइसकेका छन्

तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले अर्को वार्तासम्म मात्रै सरकारलाई कुर्ने चेतावनी दिँदै त्योभित्रै आफ्ना मागहरु पुरा गर्न सरकारलाई भनेको छ।

मोर्चाका वार्ताकारहरुले आइतबार राजधानीमा सरकारी पक्षसँग वार्ता गरिरहेको बेला मोर्चाका शीर्ष नेताहरुले जनकपुरमा एउटा संयुक्त बैठकपछि त्यस्तो धारणा सार्वजनिक गरेका हुन्।

यसअघि आन्दोलनको स्वरुप परिवर्तन हुने संकेत नेताहरुले गरे पनि मोर्चाले आमहड्ताल, नाकाअवरुद्धलगायतका विरोध कार्यक्रमलाई थप कडा तुल्याउने निर्णय गरेको छ।

आरोप

सरकार र मोर्चाबीच राजधानीमा वार्ता चलिरहेको बेला मोर्चाले बन्द, हडताललगायत नाका र राजमार्गमा गरिएको अवरोधलाइ अझ सशक्त बनाइने जनाएको छ।

मोर्चाको दुई दिवसीय बैठकपछि बोल्दै तराई मधेश लोकतान्त्रिक पार्टीका महासचिव जितेन्द्र सोनलले भने, "आमहड्ताल, राजमार्ग अवरोध, नाका अवरोध, उद्योग र कलकारखानालगायत सरकारी कार्यालय तथा वित्तीय संस्थाहरुको बन्दी अझ बढी सशक्त रुपले अघि बढाउने निर्णय भएको छ।"

मोर्चाले जनपरिचालनका कार्यक्रमहरुलाइ, सबै शब्दमा, अझ सशक्त र सहभागितामूलक बनाउने पनि जनाएको छ।

सरकारले वार्ताद्वारा समस्याको समाधान नचाहेको आरोप पनि मोर्चाले लगाएको छ।

सकारात्मक

तर सरकारसित आइतबार भएको वार्तामा सकारात्मक संकेत देखिएको मोर्चाको तर्फबाट वार्ता समितिका एकजना सदस्य लालबाबु राउतले बीबीसीलाई बताए।

उनले भने, "निश्चित रुपमा अन्य दिनको अपेक्षामा उहाँहरु जसरी प्रस्तुत हुनुभयो त्यो सकारात्मक नै थियो। त्यो सकारात्मक भए पनि अहिले तराईको आन्दोलनलाई त्यसले सम्बोधन गर्दैन भन्ने हाम्रो ठम्याइ रह्यो।"

तराइका महत्वपूर्ण पर्व तिहार र छठको बेला आन्दोलनको स्वरुप परिवर्तन गर्ने अपेक्षा अनुरुप निर्णय नभएपनि पर्वहरुलाई दृष्टिगत गरी मोर्चाका जिल्ला समितिहरुलाई निर्णय गर्ने अधिकार दिइएको तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले जनाए।

७९ दिनदेखि जारी आमहडताल र नाका एवं राजमार्गमा गरिएको अवरोधले जनजीवन अत्यन्त कष्टकर बनेको छ।