रुसी विमान दुर्घटनामा ‘बाह्य प्रभाव’

  • 2 नोभेम्बर 2015
तस्वीर कपीराइट AP
Image caption दुर्घटनामा ज्यान गुमाएका मध्ये १ सय ४० भन्दा बढीको शव सेन्ट पिटर्सबर्ग लगिएको छ

इजिप्टको साइनाइमा दुर्घटना भइ २ सय २४ व्यक्तिको मृत्यु भएको विमानको रुसी कम्पनीले सो दुर्घटनाको एकमात्र संभाव्य कारण बाह्य प्रभाव भएको भनेको छ।

मस्कोमा एक पत्रकार सम्मेलनमा मेट्रोजेटका सहायक निर्देशक अलेक्जाण्डर स्मिरनोभले प्राविधिक खराबी दुर्घटनाको कारण नभएको भन्दै हवाईजहाजमा बाह्य प्रभाव एकमात्र संभावना रहेको बताए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्रि पेस्कोवले यस बारेमा अडकलबाजी नगर्न चेतावनी दिए, तर साथै कुनै पनि मत उपेक्षा गर्न नहुने पनि बताए।

मृतक मध्ये १ सय ४० भन्दा बढीको शव सेन्ट पिटर्सबर्ग लगिएका छन्।

कारण

हवाइ विज्ञहरुले सो विमानका ब्ल्याक बक्सको जानकारी प्रयोग गर्दै जारी राखेको अनुसन्धानको अझै कुनै निष्कर्ष आएको छैन।

तर क्रेमलिनका एक प्रवक्ताले दुर्घटनाको कारणका बारेमा अड्कलबाजी नगर्ने चेतावनी दिएका छन।

“हामी अहिले कुनै पनि संभावनालाई छुटाउन सक्दैनौं। अनुसन्धान भर्खर शुरु हुँदैछ र यसको मुख्य कारण हामीलाई अझै थाहा भइसकेको छैन्, ” उनले बीबीसीलाई भने।

उक्त दुर्घटनालाई ज्यादै दुःखलाग्दो घटना भनेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ज्यान गुमाएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

मस्कोमा आयोजित एक पत्रकार सम्मेलनमा मेट्रोजेटका सहायक निर्देशक अलेक्जाण्डर स्मिरनोभले प्राविधिक खराबी र विमान चालकको गल्ती दुर्घटनाको कारण हुन नसक्ने बताए।

उनले भने, “विमान उड्दाउड्दै ध्वस्त हुनुको एकमात्र कारण विमानमा कुनै वस्तु ठोक्किनु मात्रै हुन सक्छ, प्राविधिक प्रणालीको कुनै पनि असफलताले विमान हावामै नष्ट हुने स्थिति आउने संभावना थिएन।”

असन्तुष्टि

विमान कम्पनीका अर्का अधिकारीले सो विमानमा सन २००० मा उडान भर्ने समयमा पुच्छरको भागमा क्षति पुगेको बताए तर सो क्षतिको मर्मत भइसकेको र हालको दुर्घटनामा त्यसको भूमिका भएको नठानिएको पनि उनले बताए।

तर विमानका दिवंगत सहचालककी श्रीमतीले उनले उनका श्रीमानले विमानको प्राविधिक अवस्थाबारे असंतुष्टि व्यक्त गरेको एक रुसी टेलिभिजन च्यानललाई बताएकी छन्।

सो एयरबस ३२१ विमान द्रुत गतिमा उचाईबाट झरेको र त्यसका कर्मचारीले कसैसंग सम्पर्क गर्ने र विमानको स्थितिबारे जानकारी दिने कोशिश नगरेको पनि स्मिरनोभले बताए।

दुर्घटनामा ज्यान गुमाएका १ सय ४४ व्यक्तिको शव रुसको सेन्ट पिटर्सबर्ग पुर्याईएका छन।

इजिप्टको एक रिसोर्ट शर्म अल शिखबाट सो विमान रुसको सेन्ट पिटर्सबर्ग नै जाँदै थियो।

सोमबार अरु शवहरु सहितको अर्को विमान सेन्ट पिटर्सबर्ग पुग्ने अपेक्षा गरिएको छ।

विमानमा २५ बालबालिका सहित २ सय १७ यात्रु र ६ कर्मचनरी थिए, जसमध्ये प्राय रुसी थिए।