‘इन्धन खरिद सम्झौता प्रक्रिया थालिने’

  • 3 नोभेम्बर 2015
तस्वीर कपीराइट noc
Image caption नेपाल आयल निगमले हाल मुख्यतः अत्यावश्यकीय सवारी साधनहरुलाई इन्धन उपलब्ध गराइरहेको छ

चीनले दिएको अनुदानको इन्धन ल्याउने काम सकिए लगत्तै उक्त छिमेकी मुलुकसँग व्यापारिक रुपमा इन्धन खरिदका लागि सम्झौता प्रक्रिया थालिने वाणिज्य तथा आपूर्तिमन्त्रीले बताएका छन्।

इन्धनको चरम अभाव भइरहँदा चीनले अनुदानमा उपलब्ध गराएको १ हजार मेट्रिक टन पेट्रोल यो हप्ताभित्र नेपाल भित्रिसक्ने बताइएको छ।

नेपालमा इन्धनको अभाव चर्किंदै जाँदा पनि चीनसँग गर्ने भनिएको व्यापारिक सम्झौता छिट्टो अगाडि बढाउन नसकेको भन्दै कतिपयले सरकारको आलोचना गर्न थालेका छन्।

यस्तै आलोचनाबीच सरकारले अनुदानको इन्धन भित्रिएलगत्तै चीनसँगको व्यापारिक रुपमै खरिद गर्ने प्रक्रिया थाल्ने जनाएको छ।

परिमाण

वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले भने, “यो हप्ता दिनसम्म अनुदानको तेल आइरहेको हुन्छ, त्यस लगत्तै केही परिमाण हासिल गर्ने गरी खरिद प्रक्रियामा अगाडि बढ्छौं।”

हालसालै नेपालले व्यापारिक खरिदका लागि चीनसँग समझदारीपत्रमा हस्ताक्षर गरेपछि इन्धनका लागि भारतमाथिको पूर्ण निर्भरता अन्त्य हुने अपेक्षा गरिएको थियो।

तर बाटो, मूल्य, परिमाण लगायतका विषय टुंगो लगाएर ठोस सम्झौता गर्न भने केही समय लाग्ने ठानिएको छ।

उक्त समयबारे यकिन नभएपनि कुल राष्ट्रिय मागको एक तिहाई इन्धन चीनबाट खरिद गर्ने योजना रहेको अधिकारीहरु बताउँछन्।

चिन्ता

साथै इन्धन भित्र्याउन चीनसँगको दुवै प्रवेश बिन्दु प्रयोग गर्नेबारे पनि सरकारले विचार गरिरहेको वाणिज्य तथा आपूर्तिमन्त्री पुनले बताए।

उनले भने, “केरुङ नाकामा बाटोमा अलि समस्या रहेछ, यसलाई सुधार गर्ने काम गरिन्छ, अर्को कुरा तातोपानी नाका खोल्ने र त्यसलाई सहज बनाउने र त्यसका लागि चिनियाँ पक्षसँग पनि कुराकानी गर्नेछु।”

वीरगञ्जमा भएको पछिल्लो घटनासँगै भारतसँगको सीमा नाकामा थप कडाई हुने संकेतमाझ चीनबाट व्यापारिक रुपमा इन्धन खरिद प्रक्रियालाई यथाशीघ्र नटुंग्याए संकट गहिरिनसक्ने चिन्ता पनि व्यक्त हुन थालेको देखिन्छ।