औषधि उत्पादन अभाव, आयातमा अवरोध

  • 4 नोभेम्बर 2015
तस्वीर कपीराइट
Image caption नेपालका औषधि कम्पनीका निम्ति ९० प्रतिशत कच्चा पदार्थ भारतबाट आयात हुने गर्छ

कच्चा पदार्थको अभावमा औषधि उत्पादन लगभग ठप्प भएको नेपाली कम्पनीहरुले बताएका छन्।

तराईमा जारी आन्दोलन र भारतसँगका सीमानाकामा जारी अवरोधका कारण औषधि उत्पादनका निम्ति भारतबाट आयात गरिने करिव ९० प्रतिशत कच्चा पदार्थ आउन नसकेको उनीहरुले जनाएका छन्।

तर सरकारी एकजना अधिकारीले लाइफ लाइन अर्थात जीवन जोगाउने औषधिको अभाव हुन नदिन सरकार सचेत रहेको बताए।

पछिल्लो समय कच्चा पदार्थको मौज्दात समेत सकिन लागेकाले औषधि उत्पादन पूर्णरुपमै बन्द हुनेसक्ने कम्पनीहरुको भनाई छ।

दोहोरो समस्या

त्यस्तै अवस्थाबाट गुज्रिरहेको काठमाण्डूस्थित मार्क फर्मुलेशन प्रालिका प्रशासकीय संयोजक चण्डेवर वैद्य भन्छन्, “भारतबाट आउनु पर्ने कच्चा पदार्थ नाकामा रोकिएपछि समस्या देखिएको छ। मेरो कम्पनीको कतिपय उत्पादन बन्द भइसकेको छ। स्थिति झन नाजुक देखिंदै गएको छ।”

नेपालमा खपत हुने कूल औषधिको करिव आधाजसो स्वदेशमै उत्पादन हुने गरेको बताइन्छ।

उत्पादनमा कटौती त भएकै छ, बाहिरबाट खासगरी भारतबाट पनि औषधि नआउँदा बजारमा औषधिहरुको अभाव देखिन थालेको छ।

नेपाल औषधि व्यवसायी संघका सचिव सुनिलबहादुर श्रेष्ठ, “सामान्य औषधि नेपाली कम्पनीहरुले नै उत्पादन गर्छन्। तर कतिपय महत्वपुर्ण औषधिहरु भारतबाट नै आयात हुने गर्दछ। समस्या आई नै सकेको छ।”

सरकारी प्रयास

तर जस्तोसुकै अवस्था भएपनि अत्यावश्यकीय वस्तु औषधिको अभाव हुन नदिने सरकारी अधिकारीहरु बताउँछन्।

उसो भए त्यस्तो अवस्था आउन नदिनका निम्ति के गर्दैछ सरकारले?

औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलका अनुसार वाइड बडि भएका जहाजहरुलाई सरकारले विभिन्न विमानस्थलमा रहेका औषधिहरु ल्याइदिन अनुरोध गरिरहेको छ।

उनी भन्छन्, “यसबाहेक वीरगन्ज नाकामा रोकिएका सामानलाई अन्य नाकाबाट ल्याउने र भइरहेको सामानको सुक्ष्म व्यवस्थापन गर्ने काम भइरहेको छ।”

व्यवसायीहरुका अनुसार सामान्यतया कम्पनीहरुले तीनदेखि चार महिनासम्म पुग्ने गरी कच्चा पदार्थ भण्डारण गर्दछन्।

सीमामा अवरोध लम्बिए स्थिति झन जटिल हुने उनीहरु बताउँछन्।