विभिन्न राष्ट्रद्वारा शार्म अल-शेखको भ्रमणमा रोक

  • 6 नोभेम्बर 2015
तस्वीर कपीराइट AP
Image caption बमका कारण रुसी विमान खसालिएको हुन सक्ने आशंका गरिएपनि दुर्घटनाको स्पष्ट कारण खुलेको छैन्

इजिप्टको शार्म अल-शेखमा आफ्ना नागरिकहरुको भ्रमणमा रोक लगाउने पंक्तिमा ब्रिटेनसँगै अरु मुलुकहरु पनि उभिएका छन्।

दुई सय २४ जनाको ज्यान जाने गरी गत शनिबार इजिप्टमा रुसी यात्रु विमानलाई बमले खसालिएको आशंकाबीच ती मुलुकहरुले भ्रमण नगर्न सुझाव दिएका हुन्।

फ्रान्स, बेल्जियम र नेदरल्याण्डसले आफ्ना नागरिकहरुलाई त्यहाँको भ्रमण नगर्न सुझाव दिएका छन्।

जर्मन एयरलाइन्सले चाहिँ आफ्ना उडानहरु निलम्बन गरेको छ।

आक्रमण

ब्रिटेनका एयरलाइन्सले ब्रिटिश नागरिकहरुलाई शुक्रबारदेखि स्वदेश फर्काउने छन् तर यात्रुहरुले आफूसँग हाते झोला मात्र बोक्न पाउनेछन्।

इस्लामिक स्टेटसँग आबद्ध लडाकुहरुले रुसी यात्रु विमानमाथि आक्रमण गरेको दाबी गरेका छन्।

सामाजिक सञ्जालहरुमार्फत इजिप्टको साइनाइ प्रायद्वीपस्थित इस्लामिक स्टेटसँग आबद्ध लडाकुहरुको आएको एउटा श्रव्य वक्तव्यमा भनिएको छ, “ईश्वरको मद्दतले हामीले विमाल खसाल्यौँ तर हामीले त्यसका लागि प्रयोग गरेको संयन्त्रबारे जानकारी गराउनुपर्ने कुनै बाध्यता छैन्।”

अनुसन्धान

विमान दुर्घटनाको कारण स्पष्ट भईसकेको छैन्।

सिरियामा इस्लामिक स्टेटविरुद्ध हवाई आक्रमण गरिरहेको रुसले औपचारिक अनुसन्धानको नतिजालाई प्रभावित पार्ने गरी अनुमान नगर्न चेतावनी दिएको छ।

यसअघि गुप्तरचर निकायको विवरणअनुसार बमका कारण रुसी विमान दुघर्टनामा परेको हुन सक्ने भन्दै ब्रिटिश अधिकारीहरुले शर्म एल-शेख जाने र त्यहाँबाट आउने सबै उडानहरु रद्द गरिएको बुधबार बताएका थिए।