बिहार चुनावमा भाजपा नराम्रो हारतर्फ

  • 8 नोभेम्बर 2015
modi तस्वीर कपीराइट AFP
Image caption बिहार विधानसभा चुनावलाई धेरैले मोदी नेतृत्वको सरकारको कठिन परीक्षाको रुपमा हेरेका थिए

नेपालसंग सीमा जोडिएको भारतीय राज्य बिहारको विधानसभा चुनावमा मुख्यमन्त्री नीतीश कुमारको दलसहितका पार्टीहरुको संयुक्त गठवन्धन ठूलो विजयतर्फ अघि बढिरहेको देखिएको छ।

कूल २ सय ४३ सिटमध्ये हालसम्म घोषित मतपरिणामअनुसार १६५ सिटमा महागठबन्धन भनिने उक्त संयुक्त गठवन्धनले जीत हात पारेको छ।

बांकी स्थानमा जारी मतगणनामा पनि महागठवन्धन नै अगाडि देखिन्छ।

नीतिश कुमारको जनता दल युनाइटेड, पूर्व मुख्य मन्त्री लालु यादवको राष्ट्रिय जनता दल र कांग्रेस आइ लगायतका दल मिलेर महागठवन्धन बनाएका हुन्।

झड्का

प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीका लागि बिहारको चुनाव परिणाम ठूलो झड्का भएको विश्लेषकहरुले बताएका छन्।

बिहारमा सत्तामा पुग्ने अभियानसहित लागेको भाजपाले परिणाम घोषणा भइसकेका स्थानमध्ये ५२ सिटमा मात्र जीत हात पारेको छ।

मतगणना जारी रहेका स्थानमा भाजपाले ७ स्थानमा अग्रता लिइरहेको छ।

बिहारका पूर्व मुख्यमन्त्री नीतीश कुमारले यो बिहारका जनताको बुद्धिमत्ताको जीत र असहिष्णुताको हार भएको बताए।

उनले भने, जनता देशमा एक सशक्त विपक्ष हेर्न चाहन्छन् र बिहारका जनताले त्यो सन्देश स्पष्ट गरीदिएका छन्।

असहिष्णु

खासगरी गत वर्षको आम चुनाव जितेर केन्द्रमा सरकार बनाए पछि प्रधानमन्त्री मोदीले नेतृत्व गरेको भारतीय जनता पार्टीको सरकार मुसलमान लगायतका अल्पसंख्यक समुदायप्रति निकै असहिष्णु बन्दै गएको आरोप लाग्ने गरेको छ।

प्रधानमन्त्री मोदीले व्यक्तिगत प्रतिष्ठाको विषय बनाएको यो चुनावमा भाजपाको हारलाई उनलाई पार्टीभित्रैबाट पनि चुनौती थपिन सक्ने कतिपयको अनुमान छ।

तर एकजना विश्लेषक आकार पटेल भन्छन्, अहिले पनि मोदी भारतका सबैभन्दा उर्जाशील र प्रतिभाशाली राजनेता हुन्।

तर उनी भन्छन्, अब उनको सरकारले मानिसहरुले के खान्छन् र खांदैनन् भन्दापनि उसका मुख्य एजेण्डाहरुमाथि ध्यान दिनु महत्वपूर्ण हुनेछ।