इन्धन अभावमा आन्तरिक उडान कटौती

  • 8 नोभेम्बर 2015
तस्वीर कपीराइट na
Image caption नेपाल एअरलाइन्सले इन्धन ल्याउन नसक्ने जनाएपछि आन्तरिक उडान प्रभावित छन्

नेपाल आयल निगमले आन्तरिक उडानमा प्रयोग हुने जहाजलाई अबको केही दिनमा हवाई इन्धन दिन नसकिने जनाएको छ।

भारतको कोलकाताबाट उडानमार्फत नेपाल वायुसेवा निगमले पूर्वप्रतिवद्धता अनुरुप इन्धन ल्याउन नसक्ने बताएकाले वैकल्पिक व्यवस्था हुन नसके केही दिनमा आन्तरिक उडान बन्द हुने निगमको भनाइ छ।

आइतबारका लागि नै एकचौथाइमात्र ईन्धन दिने निगमले बताएकाले आफूहरुले उडान कटौती गरेको आन्तरिक उडानमा रहेका विमान कम्पनीहरुले जनाएका छन्।

दक्षिणतिरको नाकामा अवरोध भएपछि सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमका बोइङ जहाजमार्फत भारतको कोलकाताबाट हवाइ इन्धन ल्याउने व्यवस्था मिलाएको थियो।

अर्को व्यवस्था

हाल आन्तरिक उडानमा रहेका जहाजहरुका लागि त्यसरी इन्धन उपलब्ध गराउंदै आएपनि अहिले आएर वायुसेवा निगमले ढुवानीको अर्को व्यवस्था गर्न भनेको आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले बताए।

उनी भन्छन्, "केही दिनमा सबै हवाई सेवा बन्द हुन्छ किनभने हवाई ईन्धन छैन, नेपाल बायुसेवा निगमले पनि ल्याउन सकेको छैन । उनीहरुले जनाउ दिइसके, सरकारको ठोस निर्णय आएको छैन हामीले बैकल्पिक व्यवस्था गर्न पनि सकेका छैनौं।"

अन्य निजि क्षेत्रका वायुसेवा कम्पनीसँग पनि हवाई ईन्धन ल्याउने विषयमा छलफल भएको तर उनीहरुले ढुवानी मूल्य चर्को भनेकाले विवाद हुनसक्ने भन्दै त्यसबारे निर्णय गर्न नसकेको खडकाको भनाई छ।

अनुमान

दैनिक चार वटा उडान गरेर ईन्धन ल्याउन सके हवाई ईन्धन पर्याप्त हुने निगमको अनुमान छ।

दैनिक आउने तेलको परिमाण अनुसार तेल वितरण गर्ने गरेको निगमले आइतबारका लागि २५ प्रतिशत मात्र इन्धन दिन सकिने बताएपछि धेरै उडानहरु कटौती गरिएको, सबैभन्दा धेरै संख्यामा आन्तरिक उडान गर्ने गरेको वुद्ध एयरलाईन्सका एक जना निर्देशक रुपेश जोशीले बताए।

उनी भन्छन्, "नेपालगंज, भैरहवा, धनगढी जहाँ जहाँ ईन्धन छ त्यहाँ उडान गर्छौं अरु ठाँउको उडान रद्ध गरि सक्यौं दिउसोका उडानहरुबारे दिउसै निर्णय लिन्छौं।"

आन्तरिक उडान गर्ने सबै जसो विमान कम्पनीहरुले आइतबारका लागि त्यस्तै निर्णय गरेको जनाएका छन्।

सोमबारका उडानहरु भने आईतवार कोलकाताबाट ईन्धन आए नियमित गर्ने र त्यो हुन नसके बन्द गर्नु पर्ने अवस्था आउने उनीहरुको भनाई छ।

बिहीवारदेखि ३ दिनका लागि निजी सवारी साधनलाई पनि पेट्रोलियम पदार्थ वितरण गरेको आयल निगमले झण्डै एकसातायता भारतबाट पेट्रोलियम पदार्थको आपूर्ति ठप्पप्राय: रहेको जनाएको छ।

भारतीय डिपोहरुमा ईन्धन भरेर आएका सबै ट्याङकरहरु विभिन्न नाकामा माथिको आदेश भन्दै भारतीय पक्षले रोकेको बताइएको छ।