आन्दोलनरत दल संसदमा फिर्ता

  • 8 नोभेम्बर 2015
आन्दोलन
Image caption तराईमा गएको झण्डै तीन महिनादेखि जारी आन्दोलनले जनजीवन ठप्प भएको छ।

सडक तताउंदै आएको तराई केन्द्रित आन्दोलनकारी मोर्चाका प्रमुख दलहरु लामो समयपछि आइतबार संसदीय प्रक्रियामा फर्किएका छन्।

प्रधानमन्त्री चुनावमा भाग लिएको घटनाबाहेक भदौयता तात्कालिन संविधानसभा र संसदको बैठक बहिस्कार गर्दै आएका दलहरुले सदन र सडक दुवैमा संघर्ष चलाउने नीति लिएको बताएका छन्।

संसदीय प्रक्रियामा सहभागी भएको पहिलो दिननै उनीहरुले आफ्ना माग पूरा गर्न माग गर्दै संसद अवरुद्ध पारेका छन्।

कारण

लामो समयको अन्तरालमा आइतबार संसदीय प्रक्रियामा फर्किएका आन्दोलनकारी दलका सांसदहरुले चर्को नाराबाजी गर्दै संसदको बैठक अवरुद्ध पारेका थिए।

सडकलाई विरोधको एकल मोर्चा बनाउँदै आएका आन्दोलनकारी दलहरु अब सदनलाई पनि आफ्ना माग उठाउने अस्त्रका रुपमा उपयोग गर्ने निचोडमा पुगेका छन्।

संघीय समाजवादी फोरमका नेता अशोक राईले भने, "संसदमा हामी सडकमा चलिरहेको आन्दोलनको प्रतिविम्ब प्रस्तुत गर्न चाहन्छौं।"

गत भदौ यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तात्कालीन संविधानसभा र संविधान घोषणापछिको रुपान्तरित संसद बहिस्कार गर्दै आएका छन्।

यसबीचमा प्रधानमन्त्री चुनावमा कांग्रेसका उम्मेदवार सुशील कोइरालालाई सघाउन उनीहरु संसदीय प्रक्रियामा एकपटक सहभागी भएका थिए।

सकारात्मक

पराजय भोगेपनि प्रधानमन्त्रीय दौडमा तराई केन्द्रित आन्दोलनकारी दलको साथ पाएको कांग्रेस संविधान संशोधनमार्फत उनीहरुका केही माग पुरा गर्न संगसंगै उभिने पक्षमा देखिन्छ।

तर संसद अवरुद्ध पार्ने प्रक्रियामा कांग्रेसले साथ दिने वा नदिने भन्नेबारे भने प्रष्ट छैन।

आइतबार संसद अवरुद्ध पार्न सभासद पदबाटै राजीनामा दिएको घोषणा गर्ने सदभावनाका सांसदहरु समेत पुगेका थिए।

संसदबाटै राजीनामा दिने त्यस्तो निर्णय र प्रधानमन्त्री चुनावमा सहभागी हुने आन्दोलनकारी दलको कदमलाई धेरैले आलोचना गरेपनि पुन: संसदीय प्रक्रियामा फर्किने उनीहरुको प्रयासलाई कतिपयले सकरात्मक रुपमा लिएको देखिन्छ।