हरितगृह ग्यासको परिमाण उच्चतम विन्दुमा

  • 9 नोभेम्बर 2015
तस्वीर कपीराइट Reuters
Image caption हरित गृह ग्यासको बढ्दो उत्सर्जनले विश्व तापमान बढाएको भन्दै चिन्ता बढेको छ

संयुक्त राष्ट्रसंघले गत वर्ष वातावरणमा हरितगृह ग्यासको मात्रा अहिलेसम्म देखिएको मध्ये उच्चतम बिन्दुमा पुगेको बताएको छ।

भरपर्दो ढंगले तिनको मापन शुरु भएको तीस वर्ष यताकै सबभन्दा धेरै परिमाणमा वातावरणमा त्यस्ता ग्यास देखिएको हो।

आफ्नो वार्षिक प्रतिवेदनमा विश्व जलवायु संगठनले विश्व निकै खतरनाक गतिमा अभूतपूर्व जोखिमको अवस्थामा पुग्दै गरेको जनाएको छ।

जसका कारण विश्वव्यापी रुपमै ज्यादा तापमान वृद्धि, थप मौसमी गडबडी तथा समुद्री सतह बढ्ने जस्ता सम्भावना रहेको बताइएको छ।

अनुमान

राष्ट्रसंघका वैज्ञानिकहरुले गरेको अनुमान बमोजिम वितेका आठ लाख वर्ष यताकै सबभन्दा धेरै परिमाणमा वातावरणमा कार्बन डाइअक्साइड, मिथेन तथा नाइट्रस अक्साइड जस्ता ग्यास देखा परेका छन्।

विश्वव्यापी तापमान वृद्धिका सन्दर्भमा एक चिन्ताजनक मोड मानिएको संसारको औसत तापमान एक डिग्री सेल्सियसले बढ्ने घटना यसै वर्ष हुने ब्रिटेनका वैज्ञानिकहरुले बताएका छन्।

यस वर्षको नौ महिनाका आँकडाले एक डिग्री भन्दा बढीले औसत तापमान बढेको देखाइसकेको छ।

सन् १८५० देखि १९०० बीचको औसत तापमानको तुलनामा यो वृद्धि देखिएको हो।

अपेक्षा

यो भनेको खतरनाक मानिएको दुई डिग्री सेल्सियस औसत वृद्धिको आधा हो।

“हरित गृह ग्यासका कारण वातावरण प्रणालीले सन्तुलन गुमाएको छ। यसले पूरै प्रणालीमा तापमान वृद्धि भइरहेको छ। हामीले सतहमा त्यति तापमान वृद्धि देखेका त छैनौं जति हामीले अपेक्षा गरेका छौं। तर हाम्रो विश्वास के छ भने धेरै ताप सतहभन्दा मुनि खासगरी प्रशान्त क्षेत्रमा जमेर बसेका हुनसक्छन्,” ब्रिटेनको रेडिङ्ग विश्वविद्यालयका डाक्टर एड हकिन्सले बताए।

आगामी महिना फ्रान्सको राजधानी पेरिसमा वातावरणसम्बन्धी नयाँ सम्झौता गर्न एक महत्वपूर्ण सम्मेलन हुँदैछ।