तीन चौथाई स्थान जित्ने सू चीको अपेक्षा

  • 10 नोभेम्बर 2015
तस्वीर कपीराइट AP
Image caption चुनावपछिको पहिलो अन्तर्वार्तामा सू चीले सेनाले चुनावको नतिजालाई स्वीकार गर्ने विश्वास गरेको बताइन्

म्यानमारमा भर्खरै भएको चुनावमा आफ्नो पार्टीले संसदमा तीन चौथाई स्थान जित्ने अपेक्षा गरेको विपक्षी नेतृ आउंग सान सू चीले बीबीसीलाई बताएकी छिन्।

चुनावका नतीजाहरु आउँदैछन्, र प्रारम्भिक नतिजाहरुले सू चीको अनुमानलाई समर्थन गरेको देखिन्छ।

सू चीको पार्टी न्याशनल लिग फर डेमोक्रेसीले नतिजा आएका ८८ मध्ये ७८ स्थान जितेको छ।

चुनावपछिको पहिलो अन्तरवार्तामा सू चीले सेनाले चुनावको नतिजालाई स्वीकार गर्ने विश्वास गरेको बताईन्।

सम्भावना

संविधानले उनलाई राष्ट्रपति बन्नबाट रोकेको भएता पनि म्यानमारको खास नेतृत्व भने आफूले नै गर्ने उनले स्पष्ट पारिन्।

म्यानमारको निर्वाचन आयोगले न्याशनल लिग फर डेमोक्रेसीले ४४० सदस्यीय तल्लो सदनमा ८८ मध्ये ७८ स्थान जितेको बताएको छ।

प्रारम्भिक नतिजाहरुका अनुसार न्याशनल लिग फर डेमोक्रेसीले भारी बहुमतले जित्ने सम्भावना छ, तर कूल नतिजा आउन निकै दिन लाग्नेछ।

यो चुनावलाई म्यानमारमा २५ वर्ष यताको सबैभन्दा प्रजातान्त्रिक चुनाव भनिंदै आएको छ।

बीबीसीका फर्गल कीनसंगको अन्तरवार्तामा सू चीले चुनाव धेरैजसो स्वतन्त्र भएको तर पक्षपात रहित नभएको बताइन्।

धम्की

कति क्षेत्रमा दवाव र धम्की भएको पनि उनले बताईन्।

म्यानमारको ६६४ सदस्यीय संसदमा एक चौथाई स्थान सेनाका लागि सुरक्षित छन्।

न्याशनल लिग फर डेमोक्रेसीले संसदमा बहुमत ल्याउनका लागि चुनाव भएका स्थान मध्ये दुई तिहाई स्थान जित्नुपर्ने हुन्छ।

तर सू चीले आफ्नो पार्टीले ७५ प्रतिशत स्थान जितेर सो सीमा पार गरेको बीबीसीलाई बताईन्।

सन् २०११ मा म्यानमारले दशकौंदेखिको सैनिक शासनलाई अन्त्य गरेर नागरिक शासनतर्फ जाने प्रक्रिया शुरु गरेदेखि सैनिक समर्थन प्राप्त युनियन सोलिड्यारिटि पार्टि सत्तासीन छ।

तर अहिले भने समय बदलिएको र मानिस पनि बदलिएको सू चीले बताइन्।

जुनसुकै पार्टीले जिते पनि सू ची राष्ट्रपति बन्न पाउने छैनन् किनभने म्यानमारको संविधानले विदेशी सन्तान भएका व्यक्तिलाई राष्ट्रपति बन्न निषेध गर्दछ।

“गुलाबलाई जुनसुकै नामले बोलाए पनि त्यो गुलाब नै हुन्छ” भन्दै जसले राष्ट्रपतिको पद सम्हाले पनि देशका महत्वपूर्ण निर्णय आफूले नै लिने उनले बताइन्।

अर्थपूर्ण

यो न्यायसंगत हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भनिन्, "म पारदर्शिता र जवाफदेहितामा विश्वास गर्छु। मैले यसबारेमा जनतालाई खुला रुपमा भने यो तरिकाले काम गर्नेछ।"

राष्ट्रपतिको चयन शुक्रबार भन्दा अगाडि नहुने बताईएको छ।

अमेरिकाको कार्टर सेन्टरका चुनाव परिवेक्षकले २५४ मतदान केन्द्रको निरीक्षण गरेपछि चुनाव प्राय क्षेत्रमा प्रतिस्पर्धात्मक र अर्थपूर्ण रहेको भनेका छन्।

सामान्यतया मतदान र मतगणना राम्रोसंग भएको उनीहरुले बताएको समाचार संस्था एपीको रिपोर्ट छ।

तर रोहिंज्या मुसलमान समुदायलाई मतदानबाट बञ्जित गर्नु, मतदान प्रक्रियामा अपारदर्शिता देखिनु, र प्रारम्भिक नतिजा चुनाव क्षेत्रमा उपलब्ध गराउने प्रक्रियामा अनियमितता हुनु जस्ता केहि समस्याहरु पनि परिवेक्षकहरुले उल्लेख गरेका थिए।

गत आईतबार भएको चुनावमा करिब ८ करोड व्यक्तिहरु मत दिन योग्य थिए भने ती मध्ये ८० प्रतिशतले मतदान गरेको अनुमान छ।

चुनावमा अन्य धेरै पार्टी जस्तै सू चीको पार्टीबाट पनि मुसलमान उम्मेदवार थिएनन्।

उग्र राष्ट्रवादी बौद्धमार्गीबाट उत्पीडित रोहिंज्या मुसलमानका पक्षमा पर्याप्त रुपमा नबोलेको भन्दै सू चीको आलोचना भएको छ।