आरोपित फुटबल खेलाडीहरु धरौटीमा रिहा

  • 10 नोभेम्बर 2015
तस्वीर कपीराइट bbc
Image caption खेलाडीलाई आगामी मंसिर १३ गते अदालतमा उपस्थित हुने तारिख तोकिएको छ

विशेष अदालतले हिरासतमा राख्न नपर्ने निर्णय गरेपछि आरोप लागेका पांच जना खेलाडीहरु अदालतले तोकेको धरौटी रकम बुझाएर मंगलबारै थुनामुक्त भएका छन्।

अदालतले पूर्व प्रशिक्षक अन्जन केसी र खेलाडी रितेश थापालाई जनही पांच पांच लाख रुपियाँ, कप्तान सागर थापालाई एक लाख पचास हजार रुपियाँ तथा सन्दिप राई र विकास सिंह क्षेत्रीलाई ५०/५० हजार रुपैँया धरौटी रकम बुझाउन आदेश दिएको थियो।

सन् २००८ देखि २०१४ सम्म विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेका उनीहरु, २८ दिनदेखि प्रहरी हिरासतमा थिए।

उनीहरुमाथि राज्यविरुद्धको अपराधमा मुद्धा लगाइएको छ।

आदेश

विशेष अदालतको आदेशबारे खेलाडीको तर्फबाट बहस गरेकी अधिवक्ता पवित्रा राउतले भनिन्, "थुनछेकको बहसपछि पांचै जना खेलाडीहरुलाई धरौटीमा छोड्ने आदेश भएको छ। अव उनीहरुले सामान्य तारेखमा रहेर मुद्धा लड्नेछन्।"

प्रहरी हिरासतबाट छुटेपछि खेलाडीहरुले आफ्नो पहिलेको औपचारिक बयानमा जस्तै आफुहरुले कुनै गल्ती नगरेको दोहोर्याएका छन्।

धरौटी रकम बुझाएर अदालतबाट बाहिरिने क्रममा पूर्व कप्तान सागर थापाले भने, "हामी खुशी छौं। सम्मानित अदालतले नै हामी झुठ हो वा होइन भन्ने फैसला गर्नेछ। हामी त्यो दिनको पर्खाइमा छौं। मलाई विश्वास छ फैसला हाम्रो पक्षमा हुनेछ।"

प्रकृया

यी पांच खेलाडीबाहेक मुद्दा दर्ता भएका अर्का आरोपित नेपाली राष्ट्रिय टोलीका डाक्टर डेजिव थापाको प्रहरीले खोजी गरिरहेको छ।

नियम अनुसार थापालाई ३० दिनको म्याद भित्र समातिएमा सगोलमा मुद्दा प्रकृया अगाडी बढाइने छ।

तर उनलाई पक्राउ गर्न नसकेमा खेलाडीहरुको मात्रै मुद्दा अगाडि बढ्ने बताइएको छ।

खेलाडीहरुलाई भने आगामी मंसिर १३ गते अदालतमा उपस्थित हुने तारिख तोकिएको छ।

सन् २००८ देखि २०१४ का वीच भएका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा खेल मिलेमतो गर्ने एजेन्टहरुसंग रकम लिएर खेल हारिदिएको आरोप लागेका खेलाडीहरुलाई गत असोज २७ गते प्रहरीले पक्राउ गरेको थियो।