आप्रवासी संकटबारे छलफल

  • 11 नोभेम्बर 2015
आप्रवासीहरु
Image caption ज्यानै जोखिममा हालेर युरोप आउन चाहने आप्रवासीहरुको बढ्दो संख्याप्रति युरोप चिन्तित छ

अफ्रिकाबाट युरोप आउने आप्रवासीहरुको बढ्दो संख्यालाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा छलफल गर्न युरोपेली तथा अफ्रिकी नेताहरु माल्टा प्रायद्वीपमा भेला भैरहेका छन्।

मानिसहरुलाई अफ्रिकामै बस्न प्रोत्साहित गर्न एक अर्ब नब्बे करोड डलरको एक कोष स्थापना गर्न लागिएको छ।

संयुक्त राष्ट्र संघले यो वर्ष अहिलेसम्म पाँचलाख भन्दा बढी आप्रवासीहरु समुद्री बाटो हुँदै युरोप आइपुगेको जनाएको छ।

माल्टामा भेला भैरहेका ६० भन्दा बढी अफ्रिकी तथा युरोपेली मुलुकका नेताहरुले बुधबार र बिहीबार खासगरी अफ्रिकाबाट युरोप आउने आप्रवासीहरुको बढ्दो संख्यालाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा छलफल गर्ने जनाइएको छ।

युरोपेली आयोगले मानिसहरुलाई अफ्रिकामै बस्न प्रोत्साहित गर्न एक अर्ब असी करोड युरोको एक कोष स्थापना गर्न लागिएको जनाएको छ।

आह्वान

सो रकम गरीबी निवारण तथा द्वन्द्व रोकथामकालागि खर्च गरिने भन्दै आयोगले उक्त कोषमा त्यत्तिकै रकम थप्न युरोपेली मुलुकहरुलाई आह्वान पनि गरेको छ।

गत अप्रिल महिनामा लिबियाको तटपारी डुँगा दुर्घटनामा महिला तथा केटाकेटी सहित झण्डै आठ सय जना आप्रवासीहरुको ज्यान गएपछि आयोगले यस्तो बैठक गर्न प्रस्ताव गरेको थियो।

युरोपेली अधिकारीहरुले यो वर्ष अहिलेसम्म भूमध्यसागरको जोखिमपूर्ण यात्रा पुरा गरी झण्डै डेढलाख अफ्रिकी नागरिकहरु युरोप आइपुगेको जनाएका छन्। सिरिया लगायतका मुलुकहरुबाट आएका आप्रवासी तथा शरणार्थीहरु पनि जोडदा त्यो संख्या पाँचलाख नाघिसकेको संयुक्त राष्ट्र संघले जनाएको छ।

शिखर सम्मेलन शुरु हुनुअघि माल्टाको संसदलाई संबोधन गर्दै युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टस्कले भने, "सन् २०५० सम्ममा अफ्रिकाको जनसंख्या अहिलेको भन्दा दोब्बर हुने अपेक्षा गरिएको छ, त्यसैले बढ्दो जनसंख्याबाट उत्पन्न हुने चुनौती व्यहोर्न युरोपेली संघसंग मिलेर काम गर्न आवश्यक छ।"

अपेक्षा

युरोपेली अधिकारीहरुले युरोपमा शरण लिन आवेदन दिएका तर त्यसकालागि योग्य नठहराइएका आप्रवासीहरुलाई फिर्ता लिन अफ्रिकी मुलुकहरुलाई आग्रह गर्ने पनि अपेक्षा गरिएको छ।

माल्टास्थित बीबीसी संवाददाता क्रिस मोरिस भन्छन्, अफ्रिकी नेताहरुले यो संकटमा सघाए वापत सानो संख्यामा आफ्ना नागरिकहरुलाई युरोपमा बसोबास गर्न दिन एउटा स्पष्ट मार्गचित्र उपलब्ध गराउन जोड दिने ठानिएको छ।

यसैब‌ीच टर्कीको तटपारी आप्रवासीहरु चढेको काठले बनेको एउटा डुँगा डुब्दा सातजना केटाकेटी सहित कम्तीमा चौधजनाको ज्यान गएको छ।

संयुक्त राष्ट्र संघले युरोप पुग्ने प्रयासमा झण्डै साढे तीनलाख मानिसहरुको समुद्रमा डुबेर मृत्यु भएको वा उनीहरु हराइरहेको जनाएको छ।