आप्रवासी समस्या छिटो हल गर्न आह्वान

  • 12 नोभेम्बर 2015
तस्वीर कपीराइट www.premier.gov.pl
Image caption युरोपेली परिषदका अध्यक्षले मल्टामा भएको शिखर बैठकमा पछिल्लो धारणा राखेका हुन्

युरोपेली परिषदका अध्यक्ष डोनल्ड टस्कले भनेका छन्, यदि युरोपले आफ्नो बाहिरी सीमामा प्रभावकारी नियन्त्रण कायम गर्न सक्दैन भने युरोपेली संघभित्र कायम खुला सीमा नीति सकृय रहन सक्दैन।

उनी मल्टामा भएको आप्रवास सम्बन्धि शिखर बैठक पछि बोल्दै थिए।

उक्त छलफल चलिरहँदा स्वीडेनले आप्रवासीहरुको प्रवेश नियन्त्रण गर्न जाँच चौकीहरु खडा गर्ने निर्णय गरेको छ।

सो बैठकमा युरोपेली संघले गैरकानुनी आप्रवासीहरुलाई नियन्त्रण गर्न करीब २ अर्ब डलर बराबरको कोष खडा गर्ने बताएपनि सो रकम अपर्याप्त रहेको अफ्रिकी नेताहरुले बताएका छन्।

आग्रह

मल्टामा भएको आप्रवसन सम्बन्धी शिखर बैठक पछि बोल्दै डोनल्ड टस्कले आप्रवसनको पछिल्लो समस्याको छोटो, छिटो हल नभएको भन्दै यसलाई विभिन्न देशहरुले एक आपसमा मिलेर समाधान गर्नु पर्ने बताए।

पत्रकारहरुलाई सम्बोधन गर्दै युरोपेली परिषदका अध्यक्ष टस्कले भने, "युरोपेली संघ भित्र निर्वाध यात्रा गर्न पाइने प्रावधान लागू गरिएको शेंगेन सहमति भंग हुने अवस्थामा पुगेको छ र त्यसलाई जोगाई राख्‍न नेताहरुसंग समय एकदमै थोरै छ।"

मल्टामा भएको युरोपेली र अफ्रीकी नेताहरुको दुई दिने शिखर बैठकमा नेताहरुले विभिन्न पांचवटा लक्ष्यलाई सम्बोधन गर्न सहमति जनाएका छन्।

आप्रवसन

ती लक्ष्यहरुमा गैरकानूनी आप्रवसनका मूल कारकहरुलाई सम्बोधन गर्ने, विस्थापित मानिसहरुको सुरक्षा गर्ने, मानव तस्करहरुसंग लड्ने र युरोपमा बसोबास गर्ने अधिकार नभएका शरणार्थीहरुलाई फिर्ता पठाउने प्रकृयालाई तीव्र तुल्याउने लगायतका छन्।

नेताहरुले अफ्रीकी देशहरुका लागि करीब दुई अर्ब डलर बराबरको एउटा कोष स्थापना गर्ने बारेमा पनि सहमति जनाएका छन्।

उक्त कोषको प्रयोग उत्तरी युरोप पुग्ने प्रयासमा रहने आप्रवासीहरुको संख्या घटाउने कार्ययोजना बनाउन तथा अफ्रिकी मुलुकहरुमा द्वन्द्व रोकथाम एवम् गरीबी निवारण गर्न खर्च गरिने छ।