शैक्षिक शत्रमा हेरफेर हुँदैनः शिक्षा विभाग

  • 14 नोभेम्बर 2015
तस्वीर कपीराइट UNICEF
Image caption भूकम्पका कारण पहाडी जिल्लामा पठनपाठन अवरुद्ध भएको थियो भने तराईमा आन्दोलनका कारण पढाई अवरुद्ध भएको छ

तराई आन्दोलनबाट प्रभावित जिल्लाहरुमा पाठ्यक्रम पूरा हुन नसक्ने चिन्ता व्यक्त भईरहेका बेला शिक्षा विभागले शैक्षिक शत्रमा कुनै हेरफेर नगरिने जनाएको छ।

विभागका एकजना अधिकारीले अतिरिक्त कक्षा सञ्चालन गरेर भएपनि ती जिल्लाहरुमा निर्धारित समयभित्रै परीक्षा सम्पन्न गरिने बताए।

तर एकजना शिक्षाविद्ले अतिरिक्त कक्षा सञ्चालनले विद्यार्थीहरुमा मानसिक तनाव बढ्न सक्ने भन्दै अन्य विकल्प पनि अपनाउनुपर्ने सुझाव दिए।

सीमांकन लगायतका विषयमा असन्तुष्ट तराई केन्द्रित दल लगायतले बेला-बेला बन्द आह्वान गर्दा बारा, पर्सा, सिरहा, सर्लाही, महोत्तरी लगायतका जिल्लाहरुमा यसअघि पनि पठनपाठन अवरुद्ध हुने गरेको थियो।

निर्धारित

तर पछि उनीहरुले आन्दोलनलाई निरन्तरता दिएसँगै कतिपय जिल्लाका विद्यालयहरुमा पठनपाठन पूर्णरुपमै ठप्प हुन पुग्यो।

विद्यालयहरुका अनुसार लगातारको बन्दका कारण पठनपाठन ठप्प हुँदा निर्धारित शैक्षिक तालिका अनुरुप अध्ययन अध्यापनलाई अगाडि बढाउन सकिएको छैन्।

पाठ्यक्रम पूरा नभएको अवस्थामा तह परिवर्तन हुने अन्तिम परीक्षालाई लिएर चिन्ता बढेको विद्यार्थीहरु बताउँछन्।

कतिपयले परीक्षानै सार्नुपर्ने तर्क गर्न थालेका छन्।

तर शिक्षा विभागले बाँकी रहेको समयभित्रै पाठ्यक्रम पूरा गर्न सकिने जनाएको छ। त्यसका लागि के छ त योजना?

विभागका निर्देशक खगेन्द्र नेपाल भन्छन्, “हरेक उपाय अपनाएर हामीले यो शैक्षिक क्यालेण्डरलाई प्रभावित हुन दिंदैनौँ, यो चाँडैनै समस्या समाधान हुने बित्तिकै विद्यालयमा पठनपाठन सुचारु हुन्छ, विहान बेलुका विदाको समय विद्यालयले गर्ने जुन हिउँदे विदा हुन्छ त्यो कटाएर हामी एक सय दिनको शिक्षण घण्टा बराबरको पढाई पुर्याएर समयमै परीक्षा सञ्चालन गर्छौँ।”

प्रभावकारी

तर अतिरिक्त कक्षाहरु सञ्चालन गर्नु त्यति सहज नहुने कतिपयको बुझाई छ।

त्यसका लागि भनिएका बेला शिक्षक र विद्यार्थीहरु पनि आउन तयार हुनुपर्छ भने खर्च पनि बढ्ने देखिन्छ।

शिक्षाविद् डा. विद्यानाथ कोइराला भन्छन्, त्यसबाहेक जसरी पनि पाठ्यक्रम सकाउनुपर्ने मानसिकताले पढाउँदा एकातर्फ पढाएको प्रभावकारी हुँदैन भने अर्कोतर्फ विद्यार्थीहरुमा मानसिक तनाव थपिन सक्छ।

उसो भए उपाय के के हुन सक्छन् त? जवाफमा उनी भन्छन्, “बहुविकल्प एकसाथ लैजाऔँ, रेडियो एफएमहरु यति धेरै छन्, तिनीहबाट पढ्न पाउनुपर्छ, टेलिभजनबाट पढ्न पाउनुपर्छ, त्यसैगरी घरमा वा छिमेकमा टेलिफोन हुन सक्छ, त्यहाँबाट पनि विद्यार्थीले पढ्न पाउनुपर्छ, मधेशमा जाडोमा घुर तापेर बस्ने चलन छ, त्यहीँ घुर ताप्ने बेला पढ्ने व्यवस्था गर्न सकिन्छ।”

तराई आन्दोलनका कारण पठनपाठन नराम्री प्रभावित जिल्लाहरुको विगतका नतिजा हेर्दा खासै सन्तोषजनक नभएको विज्ञहरु बताउँछन्।

महिनौँ कक्षा सञ्चालन नभएको अवस्थामा यसपटक ती जिल्लाहरुको नतिजा झन् बिग्रिन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ।