प्यारिसको त्रासदीपूर्ण रात: एक अनुभव

  • 14 नोभेम्बर 2015
तस्वीर कपीराइट AFP

प्रहरीले बाटाक्लं स्थित कन्सर्ट हलमा प्रवेश गरि दर्जनौँ बन्धकलाई छुटाएको र आक्रमणकारीको हत्या गरेको घण्टौपछि, बिहान ४ बजे नाघिसक्दा पनि म प्यारिसको सबैतिर आपतकालिन उद्धारमा गुडिरहेका सवारी साधनको साइरन सुनिरहेको छु।

त्यही आवाजकै माध्यमबाट मैले शुक्रबार राति प्यारिसमा केही नराम्रो घटना भएको संकेत पाएको थिएं।

सुरुमा मैले राती १० बजेतिर त्यस्तो आवाज सुनेको थिएं। मैले त्यस्तो आवाज पोम्पिडु सेन्टरबाट प्लास डे ला रेप्युब्लिकतर्फ आइरहेको सुनें।

अनि मैले स्टाड डु फ्रान्स, रंगशाला नजिकै एउटा विस्फोटन भएको पहिलो समाचारहरु देखें।

त्यहां फ्रान्स र जर्मनीका राष्ट्रिय टोलीहरुबीच फुटबल प्रतियोगिता भैरहेको थियो र राष्ट्रपति ओलाण्ड पनि उपस्थित हुने अपेक्षा गरिएको थियो।

बन्धक

तस्वीर कपीराइट AP

त्यसपछि बाटाक्लंमा रहेको कन्सर्ट हल, जुन पोम्पिडु सेन्टर नजिकै थियो, त्यहाँ मानिसहरुलाई बन्धक बनाइएको खबर आयो।

प्रहरीको गस्ती टोली शुरुमा मराइस क्षेत्रको एउटा क्षेत्रमा देखियो।

उनीहरुका अनुसार, पुरै एघारौँ डिस्ट्रिक्टमा घेरावन्दी गरिएको थियो तर बों माक्सी बुल्भामा अझै पनि गल्लीहरुबाट पुग्न सकिन्थ्यो।

तर त्यहाँ स्वचालित हतियार बोकेका प्रहरीका विशेष युनिटहरुलाई खटाइएको थियो र अवस्था यस्तो गम्भिर थियो कि स्थानीय वासिन्दालाई समेत बाहिर निस्कन बन्देज लगाइएको थियो।

सशस्त्र प्रहरीहरु बुल्भा बों माक्सी र भोल्तेए बीचको क्षेत्रमा जताततै परिचालित छन्।

सबै गल्ली र घुम्तीहरु बन्द गरिएका छन्। बों माक्सी बुल्भा भरी प्रहरीका मोटरहरु, एम्बुलेन्सहरु र आपतकालीन तथा बम निस्कृय तुल्याउने एकाईका वाहनहरु रहेका छन्।

बाटाक्लं थिएटर म रहेका स्थानबाट पांच मिनेटको पैदल दुरीमा अवस्थित छ तर त्यहां के भैरहेको छ भन्ने चाहिं यहांबाट सुन्न सकिंदैन।

प्रहरीले नजीकैको क्याफेमा रहेका सबैलाई छिटो त्यहांबाट बाहिर जान अनुरोध गर्यो।

त्यसको दश मिनेटभित्रै उक्त क्याफेलाई आपतकालीन अस्पतालको स्वरुप दिइयो र त्यो घाइतेहरुको उपचारका लागि तयार थियो।

घटनाको आधा घण्टा वितिसक्दा पनि हामीलाई उक्त थिएटरभित्र प्रहरी कार्वाही हुन्छ की हुंदैन भन्ने बारे केहि थाहा थिएन।

अन्योल

थप आपतकालीन सेवाका वाहनहरु त्यहां जम्मा हुंदै थिए।

एकजना अन्योलग्रस्त सवारीचालकले आफ्नो कार प्रहरी घेरा नजीकै लैजान खोज्दा केहि सानोतिनो भद्रगोल मच्चीएको थियो जस्लाई प्रहरीले बन्दूक ताकेर रोकेका थिए।

केहि समय पछि नै पहिलो हताहतिहरुलाई एम्बुलेन्स मार्फत त्यहां ल्याइ पुर्याइयो।

तस्वीर कपीराइट Reuters

कोहीलाई स्ट्रेचरमा नै बोकेर ल्याइएको थियो। केहि मिनेट भित्रै त्यहां दर्जनौं घाइतेहरु थिए जस्मध्ये केहिको अवस्था निकै खराब थियो।

झण्डै एक बजेतिर राष्ट्रपति फ्रांस्वा ओलाण्ड बों माक्सी बुल्भामा आइपुगे।

त्यहां बन्धक रहेकाहरुलाई मुक्त गर्ने सुरक्षा कार्वाही समाप्त भएको अब स्पष्ट भएको थियो तर त्यहां घाइतेहरु ल्याउने क्रम भने रोकिएको थिएन।