आइएसद्वारा प्यारिस हमलाको जीम्मेवारी दावी

  • 14 नोभेम्बर 2015
तस्वीर कपीराइट Getty

उग्रवादी समूह इस्लामिक स्टेटले एउटा वक्तव्य जारी गर्दै, प्यारिसमा १२७ जनाको ज्यान जाने गरी भएको हमलाको जीम्मेवारी दावी गरेको छ।

फ्रान्सका राष्ट्रपति ओलाण्डले उक्त हिंसात्मक घटनालाई आइएसले गरेको युद्धको संज्ञा दिएका छन्।

त्यसका लागि उक्त समूहलाई फ्रान्स भित्रैका तत्वहरुको सहयोग रहेको राष्ट्रपतिको भनाई थियो।

उनले देशमा सुरक्षा सतर्कताको अवस्थालाई उच्चतम खतराको स्तरमा पुर्याउंदै देशव्यापी संकटकालको घोषणा गरेका छन्।

घाइते

स्थानीय समय अनुसार शुक्रबार राती भएका हमलाहरुमा कम्तीमा १८० जना घाइते भएका छन्।

तस्वीर कपीराइट Getty

ति मध्ये असी जनाको अवस्था संवेदनशील रहेको बताइएको छ।

फ्रान्सको राजधानीको छ विभिन्न स्थानमा आठजना आत्मघाती बमहमलाकारीहरुले हमला गरेका थिए र तिनीहरु सबै नै मारिएका छन्।

अधिकारीहरुले मृतक हमलाकारीको शव नजीकै एउटा सिरियाली राहदानी फेला परेको बताएका छन्।

फ्रान्समा तीन दिनसम्म राष्ट्रिय शोक मनाइने भएको छ।

राजधानी प्यारिसमा विद्यालय र विश्वविद्यालयहरुका साथै थुप्रै सरकारी भवनहरु बन्द गरिएको छ।

प्रहरीले आउंदो विहीबारसम्म सबै सार्वजनिक जमघटहरुमा प्रतिबन्ध लगाएको छ।

तस्वीर कपीराइट Reuters

रक्तदान

प्यारिसको नगर परिषदले स्थानीयबासीलाई रक्तदान गर्न आह्वान गरेको छ।

शान्तिकालमा फ्रान्समा भएका यि सबैभन्दा खराब हमला हुन्।

देशमा दोस्रो विश्व युद्ध पछि संकटकालको घोषणा गरिएको यो चौथो पटक हो।

पछिल्लो पटक सन् २००५ मा प्यारिसका गरिब उपनगरिय क्षेत्रमा दंगाहरुको लहर भडकिंदा संकटकाल लगाइएको थियो।