हवाईमार्गबाट औषधि केही दिनमा ल्याइने

  • 17 नोभेम्बर 2015
Image caption नाकामा अवरोध भएपछि औषधि बोकेका सहित सयौं गाडी अलपत्र परेका छन्

भारतसंगको सीमानामा नाका अवरोध र बन्द हडतालका कारण केही अत्यावश्यक औषधिको अभाव चर्किएपछि तिनलाई हवाईमार्गबाट यही हप्ताभित्र ल्याउने तयारी भइरहेको औषधि व्यवसायीहरुले बताएका छन्।

भारतको मुम्बईबाट नेपाल वायुसेवा निगमको जहाजमार्फत ती औषधि ल्याइन लागेको बताइएको छ।

मानवीय संकट

डेढ महिनादेखि खासगरी वीरगञ्जको नाकामा जारी अवरोधका कारण भारतबाट औषधि बोकेका गाडी समेत नेपाल छिर्न नदिइएपछि देशभरका अस्पतालमा जीवनरक्षक विशेषगरी सूई मार्फत दिइने ओखतीको अभाव चर्किएको बताइएको छ।

अवस्था विस्तारै मानवीय संकटतर्फ ढल्कन लागेपछि सरकारको निर्देशनमा औषधि व्यवसायीहरुले हवाईमार्गको प्रयोग गरेर भएपनि त्यस्ता औषधि र सूई ल्याउने तयारी थालिसकेको बताएका छन्।

त्यसै क्रममा एक हप्ताभित्र औषधिको खेप नेपाल वायुसेवा निगमले मुम्बईबाट ल्याउन लागेको नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले बताए।

“नेपाल एयरलाइन्ससंग हाम्रो दुई चरणको वार्ता भइसकेको छ। अब पर्सिबाट एयर कार्गो गरेर ल्याइदिन्छौं भनेर निगमले वचन दिएको छ। त्यसैले अब यसलाई हामीले केही सकारात्मक प्रगति मानेका छौं,” उनले भने।

हाल धेरै थरीका औषधि स्टकमा रहेको भएपनि केही सूईको भने अभाव भएको स्वास्थ्य मन्त्री रामजनम चौधरीले बताएका छन्।

ती सूईलाई हवाई मार्गबाट एक हप्ताभित्र ल्याइसक्न व्यवसायीहरुलाई निर्देशन दिइएको उनले बताए।

“सरकारी गोदाममा धेरै थरी औषधिको स्टक छ। तर नौ, दसवटाको अभाव छ। ती सूई हुन्। ती नेपालमा बन्दैनन्। हामीले आपूर्तिकर्ताहरुलाई र जसले टेण्डर हालेका छन् उनीहरुलाई यी सूई तुरुन्तै हवाई मार्गबाट ल्याउन भनेका छौं। अन्यथा उनीहरुको टेण्डर खारेज हुने पनि भनेका छौं,” मन्त्री चौधरीको भनाई थियो।

राजदूतको आश्वासन

औषधिको अभावबारे भारतीय राजदूतले आफुसंग जानकारी मागेको र तिनको आपूर्ति सहज बनाउन प्रयास गर्ने आश्वासन दिएको मन्त्री चौधरीले बताए।

“भारतीय राजदूत रञ्जीत रे संग मेरो आफैं कुराकानी भएको थियो। वहाँले कहाँ, कति परिमाणमा कुन खालका औषधि बोकेका ट्रक छन् भनेर सूची तुरुन्त दिन अनुरोध गर्नुभएको छ। तिनलाई अन्य नाकाबाट पठाउने कोशिश गर्ने वहाँले आश्वासन दिनुभएको छ,” मन्त्रीले बताए।

त्यस्ता औषधि र गाडी खासगरी निजी व्यवसायीहरुको भएकाले त्यसबारेको विवरण बुझेर उनलाई दिइन लागेको मन्त्रीले बताए।

निजी व्यवसायीहरुले औषधि बोकेका करीब साढे तीन सय गाडी रक्सौल नाकामा रोकिएको यसअघि नै बताएका थिए।