'यथास्थितिमा स्कुल खोल्न कठिन'

  • 20 नोभेम्बर 2015
तस्वीर कपीराइट ram sarraff

तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले त्यहाँका जिल्लाहरुमा शिक्षण संस्थाहरु चलाउन दिने भने पनि इन्धन संकटका कारण पठनपाठन नियमित गर्नसक्ने अवस्था नरहेको विद्यालय संचालकहरुले बताएका छन्।

मोर्चाले तीन महिनादेखि बन्द विद्यालयहरु बिहानीपख खोल्न दिने बताएपछि शुक्रबार तराईका कतिपय जिल्लामा पठनपाठन शुरु भयो।

तर जाडो यामसँगै शुरु हुने शीतलहरका कारण बिहानको समयमा नियमित रुपमा पढाउन गाह्रो हुने दखिएको छ।

औषधि र एम्बुलेन्सलगायतका अत्यावश्यक सेवामा कुनै अवरोध नगर्ने निर्णय गरेको मोर्चाले आफ्नै प्रतिबद्धताको उल्लंघन गरेको पनि पाइएको छ।

पढाई

तीन महिना भन्दा बढी समययता तराईका कतिपय जिल्लामा भैरहेका आन्दोलनका कारण लाखौँ विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको भन्दै राष्ट्रसंघ लगायतका निकायले चिन्ता व्यक्त गरेका थिए।

पछिल्लो आन्दोलनबाट सबैभन्दा बढी प्रभावित पूर्वी तथा मध्य तराईका ९ वटा जिल्लाका झन्डै १६ लाख विद्यार्थीको पढाइ प्रभावित भएको युनिसेफले बताइसकेको छ।

त्यहाँका विद्यार्थीहरुले स्कुल नलाग्दा आफुहरु दिनभर खेलेर बस्नुपर्ने र कोर्स नसकिएला भन्ने चिन्ता रहेको जनाएका छन्।

त्यस्तै स्कुल तथा कलेजका सञ्चालकहरु पनि इन्धन नहुँदा आफुहरुलाई सञ्चालन गर्न कठिन भएको बताउँछन्।

मोडल मल्टिपल कलेजका सञ्चालक वीरेन्द्र साहले भने, "ग्यास पाउँदैन, अनि स्कुल कलेज चलाउन नै समस्या हुन्छ। झन् दुई शीफ्टका स्कुल कलेज खोल्न कठिन छ।"

मोर्चाका कार्यकर्ताले शुक्रबार बिराटनगरमा बिरामी बोकेको एम्बुलेन्स तोडफोड गरेका छन् भने वीरगञ्जमा औषधी बोकेको एउटा ट्रकमा आगजनी गरेको प्रहरीको भनाइ छ।

मोरंगको रंगेलीबाट बिरामी बोकेर विराटनगरतर्फ आउदै गरेको एम्बुलेन्सलाइ मोर्चाका कार्यकर्ताले शुक्रबार बिहान कटहरीमा तोडफोड गरि क्षति पु-याएको प्रहरीले जनाएको छ।

ज्वरो आएर laरामी भएका डेढ वर्षका बालक र उनकी आमा चढेको एम्बुलेन्स बाटोमा रोकेर जथाभावी मान्छे बोक्ने भन्दै सडकमा बसेको एउटा समूहले तोडफोड गरी क्षति पु-याएको चालक दिलिप मण्डलले बताए।

आन्दोलनकारीले हानेको इँटाले लागेर डेढ वर्षीय बालक र उनकी आमा घाइते भएको मोरंग प्रहरीले जनाएको छ।

सुरक्षा

तोडफोडपछि एम्बुलेन्स चालकहरुले सुरक्षाको प्रत्याभूति नभए एम्बुलेन्स चलाउन नसक्ने भन्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका थिए।

तोडफोडमा संलग्न भएको आरोपमा मोर्चाका केही कार्यकर्ताहरुलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डिएसपी प्रमोद खरेलले बताए।

यसैगरी बिहीबार राती वीरगञ्जमा औषधी लोड गरि राखेको एउटा ट्रकमा मोर्चाका कार्यकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ।

आगजनीबाट ट्रकमा रहेको औषधि जलेर नष्ट भएको बताइएको छ ।

तर ती घटनामा आफना कार्यकर्ताको संलग्नता नरहेको नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य दिलिप धाडेवाले बताए।

मोर्चाले विराटनगर नाकाबाट औषधि तथा चिकित्साजन्य सामान आयात गर्न दिने बताएपनि शुक्रबार साँझसम्म त्यस्ता कुनै सामान नेपाल नभित्रिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ।