प्रतिबद्धता विपरित एम्बुलेन्समा आक्रमण

  • 21 नोभेम्बर 2015
Image caption घाइते भएका एम्बुलेन्स चालकको विराटनगरमा उपचार भैरहेको छ

स्वास्थ्य सेवामा अवरोध नगर्ने आफ्नो पूर्व प्रतिबद्धता विपरित आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले शनिबार विरामी बोकेको एम्बुलेन्समाथी पुन: आक्रमण गरेका छन्।

बिराटनगरबाट धरान गैरहेको एम्बुलेन्सलाई सुनसरीको दुहबीमा मोर्चाका कार्यकर्ताले तोडफोड गर्ने क्रममा एम्बलेन्सका चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

आन्दोलनरत संयुक्त मधेशी मोर्चाले भने शान्तिपूर्ण कार्यक्रममा प्रहरीले दमन गरेको भन्दै विरोध जनाएको छ।

यसअघि शुक्रबार पनि एउटा एम्बुलेन्समाथि मोरंङगमा आक्रमण गरेको र बीरंगजमा औषधि बोकेको गाडी जलाएको आरोप मोर्चाका कार्यकर्तामा लागेको छ।

तनाव

संघीय सीमांकनमा सुनसरीलाई टुक्रयाउन नहुने भन्दै दुहबीमा शनिबार दिउँसो निकालिएको -यालीमा मोर्चाका कार्यकर्ताले अवरोध गर्न खोजेपछि तनाव शुरु भएको प्रहरीले जनाएको छ।

त्यसपछि प्रहरीले केही कार्यकर्तालाइ पक्राउ गरेको विरोधमा मोर्चाका कार्यकर्ता आक्रोशित बनेको परिस्थितिमाझ एम्बुलेन्समाथि आक्रमण भएको बताइएको छ।

आक्रोशित आन्दोलनकारीहरुले बिराटनगरबाट पेट सम्बन्धी गम्भीर समस्या देखिएका बिरामी बोकेर इटहरीतर्फ जादै गरेको एम्बुलेन्समा आक्रमण गरी चालकलाई घाइते बनाएको प्रहरीको भनाइ छ।

बिराटनगरको गोल्डेन अस्पतालबाट गम्भीर अवस्थाको विरामीलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा मोर्चाका कार्यकर्ताले आक्रमण गरेको एम्बुलेन्सका चालक आनन्द बिकले बताए।

उनले भने, “दुहबीमा बन्दकर्ताहरुले छेकेपछि मैले गाडी रोकेर भित्र गम्भीर विरामी छ भने त्यतिभन्दा भन्दै गाडीमा ढुङ्गा हान्न थाले, त्यसपछि मैले गाडी पछाडी फर्काउन थाले, प्रहरीहरु दगुर्दै आए, मलाइ इँटाले टाउकोमा हानेपछि म रगतै रगत भए।”

स्थिति नियन्त्रणमा लिन केहि राउण्ड हवाइ फायर गरिएको र दुई जनालाई पक्राउ गरिएको दुहवी प्रहरीले जनाएको छ।

दमन

तर आन्दोलनरत मोर्चाले एउटा विज्ञप्ती जारी गर्दै प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा जथाभावी गोली र लाठी प्रहार गरी दमन गरेको बताएको छ।

उसले वार्ताबाट निकास दिनुको साटो बल प्रयोग गरी सरकार वार्ता विथोल्न लागिपरेको आरोप पनि लगाएको छ।

संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य सञ्जयसिंहले प्रहरीले बन्दको विरोधमा स्थानीय समुदायलाई उकासेपछि उक्त घटना भएको बताए।

उनले भने “हामी बिहानै देखी बन्द गराउँदै थियौँ, अचानक प्रहरीले तपाईंहरुले जबरजस्ती बन्द गराउन सक्नुहुन्न भन्दै अलिकति सर्वसाधारणलाई उकास्ने काम ग-यो। पसल चलाउने, गाडी चलाउनेहरुलाई उकास्न थालेपछि मुठभेडको अवस्था आयो त्यसपछि प्रहरीले दमन ग-यो।”

दुई दिन अघि राजधानीमा बसेको मोर्चाको बैठकले शिक्षण संस्था बिहानी सत्रमा संचालन गर्न दिने र बिरामी, औषधि र स्वास्थ्य उपकरण सहितका गाडीलाई अवरोध नगर्ने निर्णय गरेको थियो।

तर मोर्चाका कार्यकर्ताले शुक्रबार औषधि बोकेको एउटा गाडी जलाउनुका साथै एम्बुलेन्समाथि आक्रमण गरेपछि मानवीय पक्षको ख्याल नगरेको भन्दै धेरैले उनीहरुको आलोचना गरिरहेका छन्।