औषधिमाथिको अवरोधले बान ‘चिन्तित’

  • 21 नोभेम्बर 2015
un तस्वीर कपीराइट BBC World Service
Image caption राष्ट्रसंघले पछिल्लो १० दिनमा आपूर्ति अवरोधबारे चिन्ता जनाएको यो दोस्रो पटक हो

संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले नेपालमा अत्यावश्यकीय औषधिहरु नष्ट गरिएको तथा तिनको आपूर्तिमा अवरोध गरिएका घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।

तराईमा आन्दोलनरत मोर्चाका कार्यकर्ताहरुले शुक्रबार भिन्नाभिन्नै स्थानमा औषधि बोकेका सवारी साधन र एम्बुलेन्समा तोडफोड गरेको भोलिपल्ट उक्त विश्व निकायका प्रमुखबाट त्यस्तो चिन्ता प्रकट भएको हो।

उनले त्यस्ता अवरोध तत्काल हटाउन सबैपक्षलाई आह्वान गर्दै भूपरिवेष्ठित मुलुक नेपालको पारवहन अधिकार सुरक्षित हुनुपर्ने विषयमा समेत जोड दिएका छन्।

मानवीय संकट

नेपाल-भारत सीमा नाकामा अत्यावश्यकीय सामग्री रोकिएको विषयमा राष्ट्रसंघीय महासचिव बान की मुनले पछिल्लो १० दिनमा सार्वजनिक चिन्ता जनाएको यो दोस्रोपटक हो।

बानको धारणा भनी उनका प्रवक्ताले जारी गरेको वक्त्व्यमा जीवनरक्षक औषधि नष्ट गरिएको तथा तिनको आपूर्तिमा अवरोध गरिएको भन्ने विवरण र त्यस्ता घटनाले मानवीय कार्यहरुमा पार्ने प्रभावबाट महासचिव बान चिन्तित बनेको उल्लेख छ।

औषधि बोकेको ट्रकमाथि आन्दोलनकारी मोर्चाले शुक्रबार आक्रमण गरेको घटनाप्रति लक्षित जस्तो देखिने उनको वक्तव्यमा खुला पारवहनमा नेपालको अधिकारमाथि पनि जोड दिइएको छ।

उनले भारत वा आन्दोलनकारी मोर्चाको नाम उल्लेख गरेका त छैनन्, तर डेढ हप्ताअगाडि जारी गरेको वक्त्व्यमा जस्तै, यसपटक पनि सबै पक्षलाई विना कुनै विलम्ब अवरोधहरु हटाउन आह्वान गरेका छन्।

संवाद

उनले संवाद र अहिंसात्मक गतिविधिको आवश्यकताका साथै शान्तिपूर्ण प्रदर्शन र भेला हुने स्वतन्त्रताको सम्मानमा पनि जोड दिएका छन्।

लचिलो र शान्तिपूर्ण तरिकाले समस्या हल गर्न सबै पक्षलाई आह्वान गर्दै बानले लोकतान्त्रिक, समावेशी, शान्तिपूर्ण र समृद्ध भविष्य निर्माण गर्ने नेपालको कदममा साथ दिइरहने प्रतिवद्धता जनाएका छन्।

संविधान जारी हुंदा त्यसलाई जानकारीमा लिएको भन्ने भारतीय अभिव्यक्तिसंगै मिल्दोजुल्दो प्रारम्भिक धारणा राखेको राष्ट्रसंघ पछिल्लोपटक भने सीमा नाका अवरोध, अत्यावश्कीय वस्तुको आपूर्तिमा समस्या तथा त्यसले निम्त्याउन सक्ने सम्भावित मानवीय संकटप्रति गहिरो रुपमा चिन्तित जस्तो देखिन्छ।