सप्तरीमा तनाव, मृतकको संख्या चार

  • 22 नोभेम्बर 2015
तस्वीर कपीराइट subha narayan yadav
Image caption आन्दोलनकारीले प्रहरीको भ्यानमाथी आगजनी गरेका थिए

प्रहरी र प्रदर्शनकारीबीच शनिबार रातिदेखि सप्तरीमा भएका हिंसात्मक झडपमा कम्तीमा चार जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्।

धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका अनुसार सप्तरी झडपमा घाइते भएका १० जनाको अस्पतालमा उपचार भइरहेको छ।

मारिने मध्ये तीन जनालाई गएराति भारदह तथा रुपनी र एक जनालाई आइतबार राजविराजमा भएको झडपका क्रममा प्रहरीको गोली लागेको बताइएको छ।

जिल्लाका विभिन्न स्थानमा कर्फ्यु लगाइए पनि आन्दोलनकारी मोर्चाले त्यसलाई तोड्दै प्रहरीको सवारी साधन र चौकीहरुमा आगजनी गरेका छन्।

प्रहरीले अस्पतालमा पसेर दुर्व्यवहार गरेको भन्दै सगरमाथा अञ्चल अस्पतालको सेवा ठप्प पारिएको छ।

अशान्त

तराई केन्द्रित दलहरुले राजमार्गमा कर्फ्यु तोड्दै आइतबार दिनभर प्रदर्शनलाई निरन्तरता दिएका थिए।

गएराति राजमार्ग अवरुद्ध पार्ने प्रयासमा रहेका आन्दोलनरी र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको थियो।

आइतबार दिउँसो राजविराजमा प्रहरीको गोली लागेर पांच वर्षिया बालिका र उनका पिता घाइते भएको बताइएको छ।

शनिबार राति र आइतबार भएका हिंसात्मक घटनाका कतिपय गम्भीर घाइतेको धरानस्थित अस्पतालमा उपचार भइरहेको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षका चिकित्सक डाक्टर प्रकाश भट्टराईले भने, “अस्पताल ल्याइपुर्याउनुअघि नै चार जनाको ज्यान गइसकेको थियो, अहिले १० जनाको उपचार भइरहेको छ जसमध्ये दुईजनाको अवस्था गम्भीर छ।”

यसैबीच पूर्वपश्चिम राजमार्गमा पर्ने बरमझिया नजिकको एउटा पुललाई आक्रोशित आन्दोलनकारीहरुले क्षतिग्रस्त बनाइदिएका छन्।

आक्रोश

जिल्लाको स्थिति नाजुक भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले जनाए।

उनले भने, “प्रहरीले चिकित्सकहरुसँग दुर्व्यवहार गर्यो, त्यसकारण जनता अलि आक्रोशित भए, प्रहरी कार्यालयमा दिनभर तनाव रह्यो, चारैतिरबाट निरन्तर ढुंङ्गा हानियो।”

सगरमाथा अञ्चल अस्पतालमा प्रवेश गरी प्रहरीले लाठी प्रहार गरेको भन्दै चिकित्साकर्मीहरुले आकस्मिक सेवासमेत ठप्प गरिएको निमित्त प्रमुख डाक्टर टी एन मण्डलले जनाए।

उनले भने, “प्रहरीको गाडीमा कसैले आगो लगाइदियो, त्यसको निहुँमा चिकित्सक र प्रशासनका कर्मचारीहरुमाथि बन्दुक तेर्स्याउने र लाठी प्रहार भएपछि कर्मचारी प्रशासनको आकस्मिक बैठक गरेर सेवा रोकेका छौँ।”

सप्तरी घटनाबारे आइतबार साँझ गृहमन्त्रालयमा सुरक्षा समितिको बैठकमा छलफल भएको छ।

तराईका कतिपय जिल्लाको अवस्था सरकारी नियन्त्रण बाहिर जान लागेको हो भन्ने बीबीसीको प्रश्नमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री शेरधन राईले भने, “परिस्थिति नियन्त्रण बाहिर गएको छैन र जाँदैन, हामी उपयुक्त व्यवस्थापन गर्छौँ।”

प्रहरीले आन्दोलनकारीले ढुंगा मुढा र आगजनी गरेपछि बल प्रयोग गरेको बताएको छ।

तर आन्दोलनकारीहरुले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध बल प्रयोग गरेको जनाएका छन।

संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अशोक यादवले भने, “प्रहरीले एक्कासी दमन सुरु गर्यो, त्यसक्रममा दुई दर्जन जतिलाई गोली लागेको छ।”

तराईका कतिपय स्थानमा आन्दोलन चर्किएपछि प्रशासनले राजमार्गलाई निषेधित क्षेत्र घोषणा गरी राति सुरक्षागस्तीसहित सवारी साधन चलाउँदै आएको थियो।

तर गएरातिदेखि मोर्चाका कार्यकर्ताहरुले राजमार्गअवरुद्ध पारेपछि सयौं सवारी साधन सडकमा नै रोकिएका छन्।