टर्कीसंगको सम्बन्ध बिग्रनसक्छ: पुटिन

  • 24 नोभेम्बर 2015
तस्वीर कपीराइट Reuters

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले, टर्की र सिरियाको सिमानामा एउटा रुसी लडाकु विमान खसालिएपछि टर्कीसंग उनको देशको सम्बन्धमा गम्भीर परिणाम निस्कने चेतावनी दिएका छन्।

टर्कीले सो रुसी लडाकु विमानलाई आफ्नो हवाई क्षेत्रमा अतिक्रमण गरेपछि बारम्बार चेतावनी दिएर, उक्त विमानमाथि हमला गरिएको बताएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो घटनालाई उनकै शब्दमा पिठ्युँमा छुरा घोपेको जस्तो भएको भन्दै घटनाले रुस र टर्कीको सम्बन्धमा गहिरो असर पार्ने बताएका छन्।

उनले हमला हुँदा सो रुसी लडाकु विमान टर्कीको सिमाना भन्दा ४ किलोमिटर वर सिरियाली हवाईक्षेत्रभित्रै रहेको बताएका छन्।

भिडियो

जल्दै गरेको सो विमान आकाशबाट सिरियाली क्षेत्रको एउटा पहाडमा खस्दै गरेको एउटा भिडियो सार्वजनिक भएको छ।

विमानका दुई जना चालकहरुले त्यसबाट बाहिर निस्कने प्रयास गरेका थिए।

अल अरेबिया नामक एउटा अरबी टेलिभिजन च्यानलले प्रसारण गरेको भिडियोमा हतियारधारी व्यक्तिहरुले घेरिएको, हेल्मेट नलगाएको एकजना चालकको शव देख्‍न सकिन्छ।

तस्वीर कपीराइट Reuters

गत सेप्टेम्बरको अन्त्य तिर रुसले सिरियाली राष्ट्रपति बशर अल असदका विपक्षीहरु विरुद्ध हवाई आक्रमण गर्न थालेदेखि रुसी विमान दुर्घटनामा परेको यो पहिलो पटक हो।

क्रेमलिनका एक प्रवक्ताले यो घटना अत्यन्त गम्भीर भएको तर अहिल्यै कुनै निष्कर्श भने निकाल्न नसकिने बताए।

आशंका

टर्की संलग्न रहेको नेटो सैनिक गठबन्धनले यो घटनामाथि नजर राखिरहेको बताएको छ।

तस्वीर कपीराइट Reuters

बीबीसी संवाददाता जोनाथन मार्कसले रुसले सिरियामा हवाई आक्रमण थालेदेखि यस्तै घटना हुने धेरैले आशंका गरेको बताएका छन्।

रुसले सेप्टेम्बर पछि सिरियामा सयौं हवाई आक्रमण गरिसकेको छ।

रुसले आतंककारीहरुलाई निशाना बनाइएको भन्ने गरेपनि रुसी विमानहरुले पश्चिमा मुलुक समर्थित विद्रोही समूहहरुलाई लक्षित गर्ने गरेको अधिकारकर्मीहरुले बताएका छन्।