नेपाली भूभागभित्र गोली चलाएको छैन: भारत

  • 25 नोभेम्बर 2015
Image caption गोली लागेर घाइते भएका चार मध्ये दुई जनाको धरानमा उपचार भैरहेको छ

भारतीय सीमा सुरक्षा बलले (एसएसबी) ले दशगजा क्षेत्रवाट करीब एक सय मिटर नेपाल तर्फको भूभागमा आएर बुधवार बिहान गोली चलाउँदा चार जना घाइते भएको अधिकारीहरुले बताएका छन्।

रसायनिक मल तस्करी गर्ने व्यक्ति खोज्दै आएका भारतीय सुरक्षाकर्मीले आफुहरुले बिहान आगो तापीरहेका बेला गोली चलाएको सुनसरी हरिपुरका एक जना घाइतेले जनाए।

तर काठमाण्डूस्थित भारतीय राजदूतावासले सीमा पार गरी कुनै पनि नेपालीलाई भारतीय सीमा सुरक्षा बलले घाइते नबनाएको भन्दै उक्त घटना अस्वीकार गरेको छ।

प्रधानमन्त्री केपी ओलीले उक्त घटनाप्रति चासो व्यक्त गर्दै सत्य तथ्य बुझ्न गृहमन्त्री शक्ति बस्नेतलाई निर्देशन दिएका छन्।

एसएसवी

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बुधवार बिहान सुनसरीको हरिपुर गाउँ विकास समितको वडा नम्बर सात पुर्नि टोलमा आएर घरमा बसीरहेका चार जनालाइ गोली प्रहार गरेको स्थानीय अधिकारीहरुको भनाइ छ।

घाइते हुनेमा अशोक यादब, नरेश यादव, सरोज यादव र मनोज यादव रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ।

घाइते मध्ये अशोकको अवस्था गम्भीर रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले जनाएको छ।

बुधवार बिहान ६ बजे भारतीय सशस्त्र सीमा बलले दशगजा क्षेत्रवाट करीब एक सय मिटर नेपाल तर्फको भूभागमा आएर गोली चलाएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताए।

उनले भने, “ स्थानीयहरुसँग बुझ्दा पारी पट्टि एसएसवीको केही व्यक्तिसँग झगडा भएको र ती व्यक्तिहरु नेपालतर्फ प्रवेश गरेका थिए। उनीहरुलाइ लखट्दै नेपाली भूभागमा प्रवेश गरेका एसएसवीले उनीहरुलाई नभेटाएपछि गोली प्रहार गरेको स्थानीवासीको भनाइ हामीले पायौ।”

निरीक्षण

घटना लगत्तै प्रमुख जिल्ला अधिकारी सहितको टोली हरिपुर पुगेको थियो।

स्थलगत अनुगमनका लागि हरिपुर पुगेका प्रमुख जिल्ला अधिकारीसग भारत बीरपुरका सीमा सुरक्षा बलका कमान्डेन्टले भेटेका थिए।

भेटमा कमान्डेन्टले गोली प्रहार गर्न गल्ती भएको स्वीकार गदै आगामी दिनमा यस्तो घटना नदोहो-याउने बताएको प्रमुख जिल्ला अधिकारी पन्थले वताए।

उनले भने, "गोली प्रहार गर्नु गलत भयो भनेर त्यस क्षेत्रको भारततर्फको सुरक्षाको नेतृत्व स्थानीय कमान्डरले हामीसँग भन्नुभएको छ।"

एकाबिहानै सीमा सुरक्षा बलका जवानहरु नेपाल प्रवेश गर्दा हरिपुर ७ का १८ वर्षीय नरेश यादवले आफु बिहान उठेर गोरु बाहिर निकालेर घुर तापीरहेको बताए।

दायाँ कोखामा गोली लागेका उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भैरहेको छ।

उनले भने, “कोही मानिस मल लिएर भागिरहेका थिए। म घुर तापीरहेको थिए। यही घर भित्र छ भनेर उनीहरुले भने। मैले छैन भने त्यतिकैमा गोली चलिहाल्यो।”

अस्वीकार

काठमाडौस्थित भारतीय दूतावासले बुधबार साँझ एक विज्ञप्ती निकाली तस्करहरुले सीमा क्षेत्रमा आक्रमण गरेकाले प्रतिरक्षाका लागि हवाइ फयर गरेको र घटना भारतीय भूभागमा नै भएको जनाएको छ।

उसले तस्कर र उनीहरुका सहयोगीको आक्रमणमा एक जना सीमा सुरक्षा बलका हवल्दार घाइते भएको बताएको छ।

नेपाली संचारमाध्यममा आएका समाचारहरु सत्य नरहेको भन्दै दूतावासले उक्त घटनामा कुनै पनि नेपाली नागरिक घाइते नभएको पनि दावी गरेको छ।

प्रधानमन्त्री केपी ओलीले उक्त घटनाबारे चासो व्यक्त गर्दै परराष्ट्रमन्त्री कमल थापा र गृहमन्त्री शक्ति बस्नेतलाई सत्य तथ्य बुझ्न भनेको उनका प्रेस सल्लाहकार प्रमोद दाहालले बताएका छन्।