रुस र टर्कीबीच तनाव

  • 25 नोभेम्बर 2015
तस्वीर कपीराइट none

रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले रुसी लडाकु विमानलाई टर्कीले क्षेप्यास्त्र प्रहार गरी खसालेको घटनालाई 'भड्काउने उद्देश्यले चालिएको योजनाबद्ध कदम' भनेका छन्।

उनले अब मस्कोले अंकारासंगको सम्बन्धलाई गम्भीरतापूर्वक विचार गर्ने पनि बताए।

तर मंगलबार भएको घटनालाई लिएर रुसले टर्की विरुद्ध युद्ध गर्ने चाहना नराखेकोमा उनले जोड दिए।

सेर्गेइ लाभ्रोभ र टर्कीका विदेशमन्त्री मेभलेट काभुसोग्लुबीच रुसी विमान खसालिएको घटनापछि टेलिफोन वार्ता भैसकेको छ।

पुष्टि

त्यस अघि रुसले मंगलबार खसालिएको विमानका एकजना पाइलटलाई सिरियाली क्षेत्रबाट सकुशल उद्धार गरिएको पुष्टि गरेको थियो।

उक्त विमानका अर्का पाइलटलाई भने प्याराशुटबाट अवतरण गर्दै गर्दा त्यस क्षेत्रमा रहेका विद्रोहीहरुले गोली हानी मारिदिएका थिए।

तस्वीर कपीराइट Reuters

उनको शवको स्थितिका बारेमा जानकारी प्राप्त भएको छैन।

टर्कीले उक्त रुसी लडाकु विमान आफ्नो हवाइ सिमामा प्रवेश गरेका कारण त्यसमाथि क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ।

तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हमला भएको बेला रुसी विमान सिरियाली सिमानाभित्रै उडीरहेको बताएका छन्।

यो विषयलाई लिएर दुई देशबीच तनाव एकदमै चुलिएको छ भने रुसले टर्की संगको सैनिक सम्बन्ध विच्छेद गरेको छ।

संयम

संयुक्त राज्य अमेरिका, युरोपेली संघ र संयुक्त राष्ट्र संघ सबैले संयम अपनाउन आग्रह गरेका छन्।

तस्वीर कपीराइट AFP

रुसले अब सिरियामा हमला गर्ने आफ्ना सबै बमवर्षक विमानहरुलाई लडाकु जेटहरुले सुरक्षा प्रदान गर्ने बताएको छ।

मस्कोले त्यस क्षेत्रमा आफ्नो सबैभन्दा उत्कृष्ट विमानभेदी क्षेप्यास्त्र प्रणाली परिचालन गर्दैछ। ‌

सिरियाको द्वन्द्वमा रुस र टर्की परस्पर दुई पक्षमा देखा परेका छन्।

रुसले राष्ट्रपति बशर अल असदको समर्थनगरिरहको छ भने टर्की उनको एउटा कडा आलोचक रहंदै आएको छ।