‘कृषि उत्पादन एक चौथाईले घट्न सक्ने’

  • 26 नोभेम्बर 2015
तस्वीर कपीराइट bbc
Image caption खडेरीका कारण यो वर्ष धान उत्पादनमा पनि असर परेको अधिकारीहरुले बताएका छन

भारतसँगको सीमानाकामा भएको अवरोध र लामो समयदेखिको बन्दका कारण खासगरी पूर्वी र मध्य-तराईका जिल्लाहरुमा यो वर्ष कृषि उत्पादन एक चौथाईले घट्न सक्ने कृषि विभागले अनुमान गरेको छ।

अन्य जिल्लाहरुमा भने यसको असर तुलनात्मक रुपमा कम पर्ने विभागको अनुमान छ।

हिँउदेबालीका लागि आवश्यक पर्ने मल, बिउ लगायतका आवश्यक वस्तु उपलब्ध गराउन भएको कठिनाईका कारण यस्तो स्थिति देखापर्ने बताइएको छ।

बाली भित्र्याउन र बजारसम्म पुर्याउन समेत किसानहरुले इन्धन अभावका कारण समस्या बेहोर्नुपरेको बताएका छन।

असर

तराईका जिल्लाहरुलाई कृषि उत्पादनका हिसाबले नेपालको ‘अन्नभण्डार’ मान्ने गरिन्छ।

धान, गहुँ, दलहन जस्ता खाद्यवस्तुको राम्रो उत्पादन हुने ती क्षेत्रमा जारी आन्दोलन र नाकामा अवरोधले घर भित्र्याउने अवस्थामा रहेको धान र लगाउनुपर्ने गहुँ र दलहन खेतीलाई असर परेको छ।

आन्दोलनबाट धेरै प्रभावित जिल्लाका कृषकहरुले हिउँदेबाली लगाउनका लागि मल र बिउ नपाएको र खेत जोत्न प्रयोग हुने ट्र्याक्टरहरुका लागि इन्धन समेत नपाएको गुनासो गर्ने गरेको कृषि विकास कार्यालय बाराका प्रमुख जितेन्द्र यादवले बताए।

उनले भने, “गहुँ छर्ने बेला हो, गहुँको बिउ छैन, मल छैन, त्यो सहज उपलब्ध भएर हामीले खेतीबाली लगाउन पाए हुन्थ्यो भन्ने किसानहरुको भनाई छ।”

धान रोप्ने बेला खडेरीको मारमा परेका कृषकहरुले काटेको धान समेत इन्धन अभावका कारण भित्र्याउन र विक्री गर्न नसकेको बताएका छन्।

कठिनाई

हिउँदे र बर्खे दुवै बालीमा परेको यो असरले यस वर्षको कृषि उत्पादनमा असर पर्ने कृषि विभागको भनाई छ।

विभागका महानिर्देशक डा. युवकध्वज जिसीले भने, “पूर्वी तराईका जिल्लाहरुमा गहुँ र जाडोको बेला लगाउने कोशेबालीमा समेत असर पर्ने देखिन्छ, बिउ नहुँदा र मल पर्याप्त मात्रामा लैजान नसकिँदा उत्पादनमा २० देखि २५ प्रतिशतसम्म असर देखिने छ, धानमा त असर छदैछ।”

यसको असर अन्य जिल्लाहरुमा भने तुलनात्मक रुपमा कम देखिने उनको भनाई छ।

देशभित्रै उत्पादित बिउ र जम्मा गरिएको रासायनिक मल पर्याप्त रहेपनि त्यसलाई कृषकहरुसम्म पुर्याउन इन्धन अभाव र जिल्लाहरुमा देखिएको असहज स्थितिका कारण कठिनाई भइरहेको विभागले जनाएको छ।

सीमानाकामा देखिएको असहज स्थिति लम्बिंदै जाँदा कृषि क्षेत्रमा पर्ने असर दिनदिनै बढ्दै जाने कृषि मन्त्रालयले जनाएको छ।