'गोली चलाउने एसएसबी जवानलाई कारवाही गर'

  • 26 नोभेम्बर 2015
Image caption एसएसबीको गोली लागेर ४ जना नेपाली घाइते भएका थिए

भारतीय सशस्त्र सीमा बलका सदस्यहरुले सुनसरीको हरिपुरमा प्रवेश गरी चार जना स्थानीवासीमाथि गोली चलाएको भोलिपल्ट नेपाल सरकारले उक्त घटनाका दोषीलाई कारवाही गर्न भारतसँग अनुरोध गरेको छ।

परराष्ट्रमन्त्रालयले काठमाण्डूस्थित भारतीय दूतावसामार्फत सरकारले भविष्यमा त्यस्ता घटना दोहोरिन नदिन भारतको ध्यानाकर्षण गराएको अधिकारीहरुले बताएका छन्।

काठमाण्डूस्थित भारतीय राजदूतावासले बुधवार उक्त घटनालाई अस्वीकार गरेको थियो।

तर बिहीबार बीबीसीसँग कुरा गर्दै भारतीय राजदूत रन्जीत रेले नेपालबाट प्राप्त लिखित जानकारीका आधारमा थप अनुसन्धान भइरहेको बताए।

कारबाही

बुधवार बिहान सवा ६ बजेतिर नेपाल-भारत सीमाको दश गजाबाट १०० मिटरको दूरीमा रहेको सुनसरीको हरिपुरस्थित पूर्वी टोलमा भारतीय सशस्त्र सीमा बल एसएसबीका सदस्यहरु प्रवेश गरी गोली चलाएको नेपाली पक्षले बताउंदै आएको छ।

नेपाली भूभाग प्रवेश गरेका भारतीय सुरक्षाकर्मीले केही स्थानीय व्यक्तिसंगको विवादमा गोली चलाउंदा चार नेपाली घाइते भएको भन्दै बिहीबार परराष्ट्रमन्त्रालयले वक्त्वयमार्फत तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न भारतलाई भनेको हो।

मन्त्रालयका सहायक प्रवक्ता दीपक अधिकारीले सशस्त्र सीमा बलका जवानहरु नेपाल प्रवेश गरेको र निशस्त्र नेपाली नागरिकमाथि गोली प्रहार गरेको घटनाप्रति गम्भीर सरोकार राख्दै काठमाण्डूस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारको ध्यानाकर्षण गराइएको बताए।

उनले भने, “भारत सरकारका पदाधिकारीलाई यस किसिमको घटना भविष्यमा हुन नदिन यस घटनाको शीघ्र अनुसन्धान गरी दोषीलाई कारवाही गर्न एवं यसबारेमा भएको अनुसन्धानको जानकारी नेपाल सरकारलाई उपलब्ध गराउन पनि भनेका छौँ।”

विवरण

झन्डै साढे तीन साताअघि वीरगंजमा सीमा नाका नजिकै भएको झडपका क्रममा प्रहरीले गोली चलाउँदा एक जना आफ्ना नागरिक मारिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी ओलीलाई टेलिफोन गरी घटनाको विस्तृत विवरण मागेका थिए।

सुनसरीमा भएको घटनालाई अस्वीकार गर्दै काठमाण्डूस्थित भारतीय राजदूतावासले नेपाली भूभागमा भारतीय सुरक्षाकर्मी प्रवेश नगरेको बताएको थियो।

उसले एसएसबीले भारतीय भूमिमा तस्करविरुद्ध गरेको कारवाहीमा कोही पनि नेपाली नागरिक घाइते नभएको पनि उल्लेख गरेको थियो।

तर बिहीबार नै बीबीसीलाई दिएको अन्तर्वार्तामा भारतीय राजदूत रेले नेपाल सरकारबाट पनि लिखित जानकारी प्राप्त भएकाे र यसबारे थप जाँचबुझ भइरहेको जनाएका छन्।