आइएस विरुद्ध हवाइ हमलाको प्रस्ताव

  • 27 नोभेम्बर 2015
तस्वीर कपीराइट Reuters
Image caption संसदमा बोल्दै क्यामरनले आइएस बिरुद्ध हमला गर्नुपर्ने प्रस्ताव गरेका हुन्

ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरनले यूकेले सिरियामा इस्लामिक स्टेट उग्रवादीहरु विरुद्ध हवाइ हमला आरम्भ गर्नु पर्ने प्रस्ताव गरेका छन्।

संसदमा बोल्दै उनले भने, आईएस विरुद्ध अन्य दशहरुले संघर्ष गरिरहंदा ब्रिटेनले छेउमा उभिएर हेरिरहनु नैतिक रुपमा पनि ‌ ठीक हुंदैन।

प्यारिसमा भएको हमलापछि पनि ब्रिटेन चुप लागेर बसे ब्रिटेनका साझेदारहरुले ‘अहिले नभए कहिले?' भनेर प्रश्न सोध्ने उनले बताए।

तर विपक्षी लेबर पार्टीका नेता जेरमी कोर्बीनले हवाइ हमला गर्दैमा जिहादीहरुका तर्फबाट हुने जोखिम कम हुने कुरा स्पष्ट नभएको बताएका छन्।

प्रस्ताव

डेभिड क्यामरनले सिरियामा इस्लामिक स्टेट उग्रवादीहरुविरुद्ध हवाइ हमला गर्दा ब्रिटेन सुरक्षित रहने बताए।

संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री क्यामरनले त्यसबाट ब्रिटेन झन उग्रवादीहरुको हमलाको निशाना बन्न जानेछ भन्ने दावीहरुलाई खण्डन गरे।

उनले आफूले सिरियाको अवस्था जटिल भएको भन्ने बुझेको तर यस विषयमा केहिपनि नगरी बस्नु तथाकथित इस्लामिक स्टेटसंग जुध्न जांदा आइपर्ने खतरा भन्दा झन खराब हुने बताए।

ब्रिटेन पहिले नै आइएसको निशानामा परिसकेको बताउंदै उनले भने, "त्यससंग जुध्ने एकमात्र उपाय भनेको, अहिले नै कार्वाही गर्नु हो।"

प्रधानमन्त्रीले संसदमा प्रस्तुत गरेका आफ्नो धारणको केन्द्रमा रहेको विषय चाहिं के थियो भने सिरियामा आइएस विरुद्ध गरिने हवाई हमलाहरुले मात्र समस्या समाधान हुंदैनन् तर सिरियामा विद्यमान संकटको विस्तारित राजनीतिक समाधान खोज्ने सम्भावनालाई भने त्यसले सघाउ भने पुर्याउनेछ।

आशंका

तस्वीर कपीराइट AFP
Image caption प्यारिस हमलापछि ब्रिटेन चुप लागेर बस्न नहुनेमा क्यामरनको जोड छ

संसदमा विपक्षी लेबर पार्टीका नेता जेरमी कोर्बीनले प्रधानमन्त्रीले प्रस्तुत गरेका प्रस्तावबाट ब्रिटेन सिरियामा स्थल युद्धमा तानिंदैन भन्नेमा उनीबाट प्रतिबद्धता खोजेको बताए।

उनले ब्रिटेनले गर्ने हवाइ हमलाले सैन्यगत रुपमा कुनै परिवर्तन होला भन्ने प्रश्न पनि गरे।

सिरियाली द्वन्द्वमा कुनै पनि प्रकारको ब्रिटिश संलग्नताका पछाडीको तर्कमा थुप्रै सांसदहरुले प्रश्न त गरेका छन्, तर प्यारिस हमलाहरु पछि राजनीतिक तथा सार्वजनिक धारणाहरुमा भने परिवर्तन आएको जस्तो देखिएको छ।

सम्वाददाताहरुका अनुसार यो विषयमा आफ्नो जीत हुने कुरामा प्रधानमन्त्री विश्वस्त रहेमा अर्को हप्ता संसदमा मतदान हुन सक्नेछ।

यसै महिना केहि अघि एउटा संसदीय समितिले उग्रवादीहरुलाई पराजीत गर्ने एकरुपको अन्तर्राष्ट्रिय रणनीति विना सिरियामा ब्रिटिश सैनिक कार्वाहीको अवधिलाई लम्बाउन नहुने चेतावनी दिएको थियो।