‘सबै नेपाली नारीलाई हौसला’

  • 27 नोभेम्बर 2015
तस्वीर कपीराइट bbc

एक महिला देशको सर्वोच्च पदमा पुग्दा समस्त नेपाली नारीहरुलाई हौसला मिलेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन्।

विभिन्न क्षेत्र र विभिन्न विधामा संलग्न सय जना नेपाली महिलासंगको सामूहिक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले महिला विरुद्धको भेदभाव र हिंसाबाट मुक्त नगराई नेपाल सभ्य र विकसित हुन नसक्ने बताइन्।

सय महिला

विश्वभर महिलासंग सम्बन्धित विषयमा कार्यक्रम बनाउने बीबीसीको प्रयास अन्तर्गत शुक्रबार राष्ट्रपति निवास काठमाण्डौंमा बीबीसी मिडिया एक्सनको कार्यक्रम साझा सवालमा राष्ट्रपति विद्या भण्डारीले सय जना महिलासंग अन्तर्क्रिया गरेकी हुन्।

राष्ट्रप्रमुख भएपछि पहिलोपल्ट टेलिभिजन अन्तर्क्रिया कार्यक्रममा उपस्थित राष्ट्रपति भण्डारीले आफ्नो निर्वाचनले समस्त नेपाली नारीहरुको मनोबल बढेको बताइन्।

“यसले मानसिकतामा पार्ने असर नाप्न नसकिने खालको अनमोल र अतुलनीय हुन्छ। राष्ट्रको सर्वोच्च पदमा नेपाली नारी पुग्दाखेरी सबैलाई एउटा हौसला मिल्छ र मनोबल बढ्छ भन्ने मलाई लाग्छ,” उनले भनिन्।

सपना

राष्ट्रपतिसंग महिलाहरुको प्रश्न उत्तरको शैलीमा सञ्चालित उक्त कार्यक्रममा उनको निर्वाचनबाट हौसिएकै जस्तो देखिने कक्षा दशमा अध्ययनरत एक किशोरीले राजनीतिक प्रश्न सोधेकी थिइन्।

“हजूरबाट सपना साकार पार्ने प्रेरणा पाएकी छु। मेरो सपना भोलि यस राष्ट्रको प्रधानमन्त्री बन्ने हो। त्यसैले मैले प्रधानमन्त्री बन्न के गर्नुपर्ला?” उनले सोधिन्।

कार्यक्रममा लगन र मिहेनतको आधारमा निजामती प्रशासन, समाज सेवा, कलाकारिता अनि चिकित्साक्षेत्रमा अग्रणी बन्न पुगेका महिलाहरुले अनुभव साटेका थिए।

राष्ट्रपतिका सामु उपस्थित महिलाले आफ्ना अनुभव मात्रै बाँडेनन्, पीडा पनि पोखे।

तस्वीर कपीराइट bbc

तिनै मध्येकी एक मधेशी महिलाले भनिन्, “महिलाहरुको स्थिति एकदम दयनीय छ। उनीहरु अशिक्षित छन्। घरबाट बाहिर निस्कन सकेका छैनन्। अनि कसरी राजनीतिमा आउन सक्छन्? छोरालाई बढी पढाउने तर छोरीलाई घरबाट निस्कन नदिने कुरीति छन्।”

मिहेनत

उनी लगायत चेपाङ्ग, मुसलमान, थारु, बादी अनि कर्णालीका महिलाहरुको दुखेसो सुनेपछि राष्ट्रपतिले यस्ता भेदभाव र हिंसा रहेसम्म नेपालको विकास नहुने बताइन्।

“यहाँहरुले उठाएका विषय मेरो मनलाई छुने विषय हुन्। आधा जनसंख्याको रुपमा रहेका महिलाहरुलाई भेदभाव र हिंसाबाट मुक्त नगरीकन नेपाल सभ्य, सुसंस्कृत र विकसित हुन्छ भन्ने मलाई लाग्दैन,” राष्ट्रपतिको भनाइ थियो।

राष्ट्रपति भण्डारीले अब अगाडि बढ्न नेपाली महिलालाई पुरुषको तुलनामा दोब्बर मिहेनत गर्न सुझाव दिएकी थिइन्।

उक्त अन्तर्वार्ता आइतबार राती नौ बजे बीबीसीको साझा सवाल कार्यक्रममा प्रसार गरिनेछ।