आइएसविरुद्ध सहकार्य गर्न रुस-फ्रान्स सहमत

  • 27 नोभेम्बर 2015
तस्वीर कपीराइट AFP
Image caption सिरियामा आइएसविरुद्ध रुस र फ्रान्सबीच सहमति भएपनि सिरियाली राष्ट्रपतिलाई लिएर मतभेद कायमै छ।

सिरियामा इस्लामिक स्टेटविरुद्धको कारवाहीमा अझ बढी नजिकबाट सहकार्य गर्न रुस र फ्रान्स सहमत भएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी फ्रांस्वा ओलान्दबीच मस्कोमा भएको वार्तापछि सहकार्यसम्बन्धी घोषणा गरिएको हो।

रुस र फ्रान्सबीच भएको सहमति अनुसार दुवै मुलुकले एकअर्कासँग समन्वय गरी सिरियामा हवाई हमला गर्नेछन।

सहमतिबारे ओलान्दले भने, “राष्ट्रपति पुटिनसँग हामी मुख्य तीन बुँदामा सहमत भयौँ, पहिलो हामी जुनसकै र जहाँबाट आउने सूचना र गुप्तचर जानकारी आदानप्रदान गर्न गइरहेका छौँ।”

मतभेद

तर सिरियाली राष्ट्रपति बशर अल असादको भविष्यलाई लिएर दुई मुलुकबीच मतभेद कायमै छ।

ओलान्दले सिरियाको भविष्यबारे असादले कुनै भूमिका निर्वाह गर्न नसक्ने स्पष्ट पारे।

तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यससम्बन्धी निर्णय गर्ने अधिकार सिरियाली जनतामा भएको बताए।

फ्रान्सले निर्माण गर्नुपर्ने भन्दै आएको आतंकवादविरुद्धको बृहत् गठबन्धनमा रुस सामेल हुने कुनै संकेत देखिएको छैन, जुन गठबन्धमा अमेरिका पनि रहनेछ।

‘वाहियात’

दुई पक्षीय वार्तापछि आयोजित एउटा पत्रकार सम्मेलनमा बोल्दै पुटिनले रुसी लडाकु विमानबारे टर्कीले अमेरिकाबाट सूचना प्राप्त गरेर खसालेको बताए।

उनले रुसी लडाकु विमान उडिरहेको क्षेत्रबारे अमेरिकालाई पूर्व जानकारी गराइएको दाबी समेत गरे।

खसालिनुअघि त्यो रुसी विमान भएकोबारे आफूलाई जानकारी नभएको टर्कीको दाबीलाई पुटिनले वाहियात भनेका छन।

टर्कीले मंगलबार सिरियासँगको सीमामा रुसी लडाकु विमान खसालेको थियो।