नेपाल छिरेका एसएसबीलाई भारतकै जिम्मा

  • 29 नोभेम्बर 2015

झापाको केचनामा हतियारसहित नेपाल प्रवेश गरेका भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीका १३ जना सदस्यलाई झापाको स्थानीय प्रशासनले आइतबार दिउँसो एसएसबीका अधिकारीलाई जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय झापाले जानकारी दिएको छ।

उनीहरु केचनास्थित सशस्त्र प्रहरीको सीमा जाँच चौकीमा करीब ७ घण्टा रहेका थिए।

उनीहरु सीमामा अवैध व्यापार गर्ने गिरोहलाई लखेट्ने क्रममा नेपाल प्रवेश गरेको स्थानीय प्रशासनले जनाएको छ ।

फिर्ता

झापाको दक्षिणी सीमावर्ती गाविस केचनामा नेपाली बस्तीमा हतियारसहित आइतबार विहान नेपाल प्रवेश गरेका १३ जना भारतीय सशस्त्र सीमा सुरक्षा बलका सदस्यहरुलाई स्थानीय प्रसाशनले उनीहरुका अधिकारीलाई दिउँसो जिम्मा लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताए।

उनले भने, 'उहाँहरुलाई एसएसबी १२ बटालियन किसनगञ्जका सेकेन्ड इन कमान्डेन्ट शेषभगत नागी र असई नरेश कुमारलाई जिम्मा लगाइयो। उनीहरुले गल्ती स्वीकार गरेकाले हामीले एसएसबीका अधिकारीलाई जिम्मा लगाएका हौं।'

अबैध रुपमा सामान ओसारपसार गर्ने केही व्यक्तिहरुलाई लखेट्ने क्रममा एसएसबीका सदस्य हतियारसहित नेपाल प्रवेश गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

उनीहरु नेपाल प्रवेश गरेपछि स्थानीयबासीले नाराबाजीसमेत गरेको स्थानीय अधिकारीहरुले जनाएका छन्।

त्यसपछि केचनास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टमा सशस्त्र प्रहरीले उनीहरुलाई लिएर आएको थियो।

नियन्त्रण

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार विहान सात बजे सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका भारतीय सशस्त्र सीमा सुरक्षा बलका सदस्यहरुलाई दिउँसो २ बजे एसएसबीका अधिकारीहरुलाई जिम्मा लगाइएको थियो।

उनले भने, 'हाम्रो सुरक्षामा उहाँहरु करीब सात घण्टा रहनु भएको थियो।'

उनीहरुसंग रहेका ६ थान हतियारसमेत एसएसबीका अधिकारीलाई जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।

भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीका सदस्य सुपारी तस्करीमा संलग्न समूहलाई पछ्याउँदै नेपाली बस्तीमा पसेको गाउँलेले बताएका छन्।

पाँच दिनअघि सुनसरीको हरिपुरमा पनि नेपाली भूमि मै पसेर एसएसबीको गोली प्रहारबाट चारजना नेपाली घाइते भएका थिए।

जुन भारतीय पक्षले अस्वीकार गर्दै आएको छ।

यिनै घटनाक्रमका विषयलाई लिएर सुनसरीको पकलीमा आइतबार गृहमन्त्री शक्ति बस्नेतले पूर्वाञ्चलका प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरुसंग छलफलसमेत गरेका थिए ।