आप्रवासीबारे टर्की-इयुबीच सम्झौताको तयारी

  • 29 नोभेम्बर 2015
migrant तस्वीर कपीराइट EPA
Image caption युरोपेली मुलुकहरु आप्रवासी संकटको समाधानको विकल्पको खोजीमा लागिरहेका छन्

टर्की र युरोपेली संघका नेताहरुले युरोप प्रवेश गर्ने आप्रवासीहरुको प्रवाह नियन्त्रण गर्नेसम्बन्धी सम्झौता गर्ने प्रयास गरिरहेका छन्।

उक्त सम्झौता अन्तर्गत आप्रवासीहरुको प्रवाह नियन्त्रण गरेबापत टर्कीले ठूलो आर्थिक सहायता पाउने बताइएको छ।

सम्झौता अनुसार युरोपेली संघका सदस्य मुलुकमा आप्रवासी र शरणार्थीहरुको प्रवाहमाथि नियन्त्रण गरेबापत टर्कीले सहायतामा ३ अर्ब २० करोड डलर प्राप्त गर्नसक्ने छ।

त्यसबारे बेल्जियममा भइरहेको शिखर सम्मेलनमा छलफल भइरहेको बताइएको छ।

सम्झौताका लागि टर्कीका प्रधानमन्त्री अहमत दाभुतोंग्लुले युरोपेली नेताहरु भेट्दैछन्।

प्रस्ताव

प्रस्ताव अनुसार टर्कीले युरोपबाट फर्काइएका अवैध आप्रवासीहरुलाई आफ्नो मुलुकमा स्वीकार गर्नुपर्नेछ।

यसैगरी टर्कीका यात्रुहरुमाथिको प्रवेशाज्ञा अवरोधहरु हटाइने र युरोपेली संघमा टर्कीको प्रवेशसम्बन्धमा स्थगित वार्ता पुन: थालिने बताइएको छ।

तर संवाददाताहरुले उक्त सम्झौता अन्तर्गत कुन सदस्य मुलुकले कति रकम दिने भन्नेबारेमा मतभेद देखिन्छ।

यो वर्षमात्रै करिब ९ लाख आप्रवासी युरोप पुगेका छन्।

धेरैजसो सिरिया, इराक र अफगानिस्तानमा भड्किएको हिंसाबाट ज्यान जोगाउन भागेकाहरु छन्।

युरोप प्रवेश गर्नुअघि धेरै टर्कीमा अस्थायी शिविरहरुमा बास बस्ने गरेको बताइन्छ।

युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्कसहितका युरोपेली नेताहरु सम्झौता हुनेमा आशावादी देखिन्छन्।

तर पछिल्लो योजनाका केही अंशमा अझै पनि असहमतिहरु रहेको र टर्की र रुसबीचको तनावले विषयहरु थप जटिल बनेको संवाददाताहरुले जनाएका छन्।