जलवायु सम्मेलनबाट के हासिल होला?

  • 1 डिसेम्बर 2015
तस्वीर कपीराइट Reuters
Image caption खडेरीको एकदमै मारमा पर्ने र समुद्रको सतह बढ्ने खतरामा रहेका मुलुकका नेताहरुले संकटबाट जुझ्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

विश्व नेताहरुले प्यारिसमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा जलवायु परिवर्तन र विश्वको तापक्रम डरलाग्दो रुपमा बढ्ने क्रम रोक्ने विषयमा सहमति जुटाउने प्रयास गर्दैछन्।

सम्मेलनमा सहभागी विश्व नेताहरुले विश्वव्यापी तापक्रम वृद्धिलाई तत्कालको खतरा भनेका छन्।

उसो भए विश्व नेताहरुका मीठा वचन र असल नियतबाट हामीले के हासिल गर्न सक्छौँ त?

सम्मेलनमा निश्चित रुपमा सकारात्मक संकेतहरु देखिएका छन।

समाधान

एकपछि अर्का विश्व नेताहरुले एउटै गीत गाएका छन।

त्यो हो- जलवायु परिवर्तन ठूलो चुनौती हो, विश्वस्तरमा गरिने सहकार्यले मात्र यो समस्याको समाधान निस्किन सक्छ र मेरो मुलुकले यसका लागि ठूलो काम गरिरहेको छ।

यद्यपि अहिले पनि स्पष्ट रुपमा मतभेद देखिन्छ।

आगामी दुई साताभित्र प्रगति हासिल हुन पनि सक्छ र नहुन पनि सक्छ। विश्व तापमान वृद्धिलाई २ डिग्री सेल्सियसमा सीमित राख्ने विषयमा सहमति जुटाउनका निम्ति वार्ताकारहरुसँग दुई साताको समयावधि छ।

एकजना वार्ताकारका अनुसार सम्मेलनको उद्देश्य नेताहरु आउने, बोल्ने र राम्रोसंग तयार पारिएको कुराहरुलाई नपल्टाएरै खुशीका साथ फर्किने देखिन्छ।

जटिलता

सन् २००९ मा डेनमार्कको कोपेनहेगनमा यस्तै भएको थियो।

व्यंग्यको संकेत गर्दै ती वार्ताकारले भने, “राजनीतिक प्रकृतिलाई नेताहरु पूर्ण रुपमा बुझ्छन, त्यो भनेको राजनीतिक जटिलता हो, निर्देशन दिनका निम्ति उनीहरु यहाँ आइरहेका छन र त्यसपछि हामी वार्ताकारहरुले त्यसलाई मिलाउनुपर्ने हुन्छ।”

न त सम्मेलनमा हुने सम्झौतालाई लिएर मुलुकहरु कसरी अघि बढ्छन स्पष्ट छ न त त्यसलाई कसरी कार्यान्वयन गरिनेछ भन्ने स्पष्ट छ।

खडेरीको एकदमै मारमा पर्ने र समुद्रको सतह बढ्ने खतरामा रहेका मुलुकका नेताहरुले संकटबाट जुझ्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिएका छन्।