ब्रिटेनमा हवाई कारवाहीको पक्षमा मतदान

  • 3 डिसेम्बर 2015
तस्वीर कपीराइट PA
Image caption ब्रिटेनमाथि जिहादीको आक्रमण हुञ्जेल नकुरी अहिले नै आइएसको मुख्य केन्द्रमा हान्नुपर्ने प्रधानमन्त्री क्यामरनको तर्क थियो

ब्रिटेनका सांसदहरुले सिरियामा इश्लामिक स्टेट विरुद्धको हवाई कारवाहीमा ब्रिटेनको सेना पनि सहभागी हुने पक्षमा मतदान गरेका छन्।

संसदमा दश घन्टा भन्दा लामो चर्काचर्की पछि ३९७ सांसदले पक्षमा मतदान गरेका हुन्।

मुख्य मतदान हुनु केहि अघि राजनीतीकर्मीहरुले विपक्षीहरुको हवाइ कारवाही पूर्ण रुपमा रोक्ने भन्ने संशोधन प्रस्ताव अस्वीकार गरेका थिए।

परिणाम प्राप्त भएपछि संसद बाहिर आक्रोशित विरोध प्रदर्शन भएको थियो।

'हतार'

त्यसअघि प्रधानमन्त्री डेभिड क्यामरनले जिहादीहरुले ब्रिटेनमाथि आक्रमण गरुञ्जेल कुर्नु भन्दा आइएसलाई उनीहरुकै केन्द्रमा गएर युद्ध गर्नु ज्यादा उचित हुने तर्क गरेका थिए।

विपक्षी लेबर पार्टीका नेता जेरेमी कोरबीनले उनकै शब्दमा राम्ररी सोच विचार नगरी युद्धमा जान हतार गरेको भन्दै सचेत बनाएका थिए।

तस्वीर कपीराइट Getty
Image caption ब्रिटिश संसदमा हवाई कारवाहीको पक्षमा मतदान भए लगत्तै दुइ जोडी फाइटर जेट उडेका छन्

तर उनकै पार्टीका छायाँ विदेश मन्त्री समेत रहेका हिलरी बेन सहित ६७ सभासदले समेत सरकारको पक्षमा मतदान गरेका थिए।

मतदान अघि छायाँ विदेश मन्त्री हिलरी बेनले भनेका थिए-'अब यो दुष्टताको विपक्षमा काम गर्ने बेला भइसकेकाले म मेरा सहकर्मीहरुलाई प्रस्तावको पक्षमा मतदान गर्न आग्रह गर्छु।'

स्वागत राष्ट्रपति ओबामाले सिरियामा आइएस विरुद्ध हवाई कारवाहीमा ब्रिटिश सैनिकहरु सहभागी हुनुपर्ने पक्षमा ब्रिटिश संसदले गरेको मतदानको स्वागत गरेका छन्।

उनले अमेरिकी नेतृत्वको गठबन्धनमा भइरहेको आक्रमण तालिकामा तत्काल रोयल एअर फोर्सलाई समाहित गरिने बताए।

साइप्रसस्थित ब्रिटिश रोयल एअर फोर्सको आधारकेन्द्रबाट दुइजोडी ब्रिटिश टोर्नेडो युद्धविमानहरु उडिसकेका छन्।

ब्रिटिश संसदमा हवाई कारवाहीको पक्षमा मतदान भइसकेपछि ति विमानहरु सिरियातर्फ लागेको भन्ने रक्षा मन्त्रालयले पुष्टी गरिसकेको छैन।

तर संवाददाताहरु भन्छन् इराकमा आइएस विरुद्ध कारवाही गरिरहेको हवाई शक्ति महिनौंदेखि सिरियाको कारवाहीमा संलग्न हुने तयारीमा थियो।