आन्दोलनरत मोर्चासँगको वार्ता स्थगित

  • 2 डिसेम्बर 2015
तस्वीर कपीराइट Nepal PMO
Image caption सतारुढ दलले आफ्ना मागबारे साझा धारणा ल्याउन नसकेको मोर्चाले आरोप लगाउँदै आएको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरु राजधानी बाहिर रहेको भन्दै बुधबार साँझका निम्ति तय गरिएको वार्ता स्थगित गरेका छन्।

झन्डै सवा तीन महिना देखि तराईका कतिपय जिल्लामा जारी आन्दोलन चाँडै हल गर्न दबाब बढिरहँदा सतारुढ एवं प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस समेत सहभागी हुने भनिएको वार्ता पर सरेको हो।

प्रधानमन्त्री ओलीले प्रमुख तीन दलबीच बिहीबार छलफल गरी वार्ताको अर्को मिति तोक्ने जनाएका छन्।

आन्दोनरत दलहरुले चाहिँ सरकार वार्ताका लागि गम्भीर नभएको र आफ्ना मागबारे साझा धारणा ल्याउन विफल रहँदै आएको आरोप लगाएका छन्।

स्थगन

सोमबार भएको त्रिपक्षीय छलफलपछि थप गृहकार्य गरी बुधबार साँझ ६ बजे सत्तारुढ दलहरु, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच बैठक बस्ने निर्णय गरिएको थियो।

तर सामाजिक संजाल ट्विटर मार्फत प्रधानमन्त्री केपी ओलीले उक्त वार्ता स्थगित भएको भन्दै बिहीबार बिहान बस्ने प्रमुख तीन दलको बैठकपछि नयाँ मिति तोकिने बताएका हुन्।

बीबीसीसँग कुरा गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले आन्दोलनरत मोर्चाका शीर्ष नेताहरु राजधानी बाहिरको आमसभामा व्यस्त भएकाले थप गृहकार्यका लागि वार्ता स्थगित गरिएको जनाए।

उनले भने, “आन्दोलनरत दलका सबै वरिष्ठ नेताहरु आमसभामा सम्बोधन गर्न जानुभयो, उहाँहरु काठमाण्डू फर्कन नभ्याएकाले वार्तालाई सारेको मात्रै हो। बिहीबार बिहान प्रमुख तीन दल बस्दैछौँ, शीर्ष नेता नभइ निर्णय हुँदैन त्यही भएर यस्तो निर्णय गरिएको हो।”

नयाँ संविधानमा उल्लेखित सीमांकन सहितका कतिपय प्रावधानको परिमार्जन सहित विभिन्न ११ बुँदे माग राखेर तराईका दलहरु आन्दोलनरत छन्।

संकट

उनीहरुको बहिष्कारका बीच नयाँ संविधान जारी गरिए लगत्तै प्रमुख व्यापारिक नाका वीरंगजमा अवरोध गरिएपछि पछिल्ला दिनमा इन्धन र औषधिको अभावमा नेपाल गम्भीर मानवीय संकटको संघारमा पुगेको भन्दै अन्तर्राष्ट्रिय निकायहरुले चिन्ता व्यक्त गर्दै आएका छन्।

उक्त आन्दोलनका कारण लाखौं विद्यार्थीहरुको पठनपाठन ठप्प हुनुका साथै नवजात शिशुकालागि आवश्यक खोप र औषधिको समेत अभाव हुन थालेको भन्दै तत्काल वार्ता मार्फत समाधान खोज्न विभिन्न पक्षले सरकार र आन्दोलनरत मोर्चाको ध्यानाकर्षण गराउँदै आएका छन्।

आन्दोलनका दौरान झन्डै ५० जनाको ज्यान गैसकेको छ।

दुवै पक्षबीच भएको वार्तामा ठोस प्रगति नहुनुमा दुबै पक्षले एक अर्कालाई आरोप लगाउने गरेका छन्।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बुधवारको वार्ता स्थगित हुनुमा सरकार दोषी रहेको बताउँदै मोर्चाका वरिष्ठ नेताहरु राजधानीमा हुँदाहुँदै सरकारले वार्ता स्थगित गरेको आरोप लगाए।

उनले भने, “हामी आफै बसेर त्यत्रो प्रयास ग-यौं सरकारको अहिलेसम्म कुनै दृष्टिकोण नै छैन। मधेशको समस्या कसरी समाधान गर्ने भनेर सोध्नुभयो भने खै हामीले छलफल नै गरेका छैनौँ भन्छन्, त्यसरी वार्ता निष्कर्षमा पुग्छ?”

तराईको संकट समाधानको कुनै संकेत नदेखिइरहँदा परिणाममुखी वार्ता गर्न दबाब दिंदै देशका विभिन्न ठाउँहरुमा प्रदर्शन भैरहेका छन्।

भारत

यसैबीच भारतले नेपाललाई राजनीतिक समस्याको राजनीतिक समाधान चाँडो गर्न फेरि पनि सुझाव दिएको छ।

परराष्ट्र मन्त्रालयको पनि जिम्मा संहालेका उपप्रधानमन्त्री कमल थापासंग दिल्लीमा बिहीबार भएको भेटका क्रममा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले सीमामा रोकिएका मालवाहक सवारी साधनको आवागमन सहज तुल्याउन नेपालले जतिसक्दो चाँडो तराईको स्थिति सामान्य बनाउनु पर्ने बताइन्।

उपप्रधानमन्त्रीमा नियुक्त भएको दुई महिनाभित्र आफ्नो दोस्रो भारत भ्रमणमा दिल्ली पुगेका थापा मोर्चासँग वार्ता गर्न सरकारले बनाएको समितिका संयोजक पनि रहेका छन्।