तेलले चर्काएका पाँच द्वन्द्व

  • 3 डिसेम्बर 2015
तस्वीर कपीराइट AFP
Image caption इराकमा लडाकुहरुको आम्दानीको मुख्य स्रोत तेल भएको बताइन्छ।

इस्लामिक स्टेटबाट तेल आपूर्ति सुरक्षित गर्नका निम्ति टर्कीले आफ्नो एउटा लडाकु विमान खसालेको रुसी आरोपपछि तेल एकपटक फेरि युद्धको केन्द्रमा आएको छ।

हामी यहाँ युद्धमा तेलले खेलेको भूमिका र दोस्रो युद्धका बेला खनिज इन्धनका कारण चर्किएका अन्य द्वन्द्वहरुबारे चर्चा गर्नेछौँ।

सिरिया र इराकः सन् २०११ देखि हालसम्म

इराक र सिरियाको द्वन्द्वमा तथाकथित इस्लामिक स्टेटको संलग्नतामा तेलले महत्वपूर्ण भूमिका खेलेको छ।

लडाकुहरुका निम्ति तेल विक्री आम्दानीको मुख्य स्रोतको रुपमा रहेको छ।

सन् २०१४ को मध्यमा उनीहरुले तेल बेचेर प्रतिदिन अनुमानित २० लाख डलर कमाउने गरेका थिए।

तेल उत्पादन हुने सिरियाका अधिकांश क्षेत्रमाथि इस्लामिक स्टेटको नियन्त्रण छ।

सन् २०१४ मा आफ्नो नियन्त्रण क्षेत्र बढाएपछि इराकको मोसुल नजिकैका तेल केन्द्रहरुमाथि उक्त समूहले कब्जा गरेको थियो।

विभिन्न ग्राहकहरुलाई उनीहरुले तेल विक्री गर्दछन, त्यसमा असद सरकार पनि पर्दछ र तस्करहरु जसले टर्कीसँगको सीमामा तेल बेच्छन।

यही व्यापारलाई सुरक्षित पार्नका निम्ति टर्कीले आफ्नो एसयु-24 लडाकु विमान खसालेको रुसी आरोप छ।

टर्कीले आफूले इस्लामिक स्टेटबाट तेल खरिद गर्ने गरेको आरोपलाई अस्वीकार गर्दै आएको छ।

बीबीसीका रक्षा संवाददाता फ्रांक गार्डनर भन्छन, त्यस्तो व्यापारबारे पर्याप्त प्रमाण छ, यद्यपि सरकारी संलग्नतासम्बन्धी कुनै प्रमाण देखिंदैन।

सन् २००३ः इराक अतिक्रमण

तस्वीर कपीराइट AFP
Image caption सन् २००३ मा इराकमा अमेरिकाले अतिक्रमण गर्नुमा तेल राजनीति पनि कारकको रुपमा थियो।

सन् २००२ मा इराकका तत्कालीन उपप्रधानमन्त्री तारिक अजिजले भनेका थिए, खासमा तेललाई लिएर इराकमाथि सैन्य आक्रमण हुने खतरा छ।

त्यसबेला त्यो अरब विश्वमा साझा बुझाईको रुपमा थियो।

इराकसँग ठूलो तेल भण्डार छ र धेरै विज्ञहरु यसमा सहमत छन कि इराक द्वन्द्वको एउटा कारक तेल पनि थियो तर संभवत त्यही एउटा कारण थिएन।

दि इकोनोमिस्ट पत्रिकाले सन् २००२ मा निष्कर्ष निकालेको थियोः आमनरसंहार गर्न सक्ने सद्दाम हुसैनका वास्तविक अथवा संभावित हतियार नष्ट पार्नु अमेरिकाको प्रमुख उद्देश्य भएपनि इराकका ठूला तेल भण्डारहरुमाथि आक्रमण गर्ने मनसायले पनि महत्वपूर्ण भूमिका खेलेको थियो।

हुसैनले रणनीतिक प्रभाव विस्तार गर्नका निम्ति तेलबाट प्राप्त हुने आम्दानी खर्च गर्ने गरेको आशंकाले पनि इराक अतिक्रमणमा भूमिका खेलेको थियो।

सन् २००२ को अगस्तमा इराकी महत्वकांक्षाबारे चेतावनी दिंदै तत्कालीन अमेरिकी उपराष्ट्रपति डिक चेनीले भनेका थिए, “त्यसपछि सद्दाम हुसैनले समग्र मध्यपूर्वमाथि दबदबा कायम गर्न खोज्नेछन र विश्व ऊर्जा आपूर्तिको ठूलो हिस्सामाथि उनले नियन्त्रण कायम गर्नेछन।”

सन् १९९१ः पहिलो खाडी युद्ध

सन् १९९१ मा युद्ध शुरु हुनअघिका महिनाहरुमा युद्धविरोधीहरुको एउटा साझा नारा थियो ‘तेलको लागि रगत होइन’।

तर युद्धमा तेलको भूमिका अस्वीकार गर्न सकिने अवस्था भएन।

खासमा तेलमा धनी कुवेतमाथि इराकी अतिक्रमणलाई लिएर युद्ध शुरु भएको थियो।

तस्वीर कपीराइट Getty
Image caption तेलमा धनी कुवेतमाथि इराकी अतिक्रमणलाई लिएर खाडी युद्ध शुरु भएको थियो।

सद्दाम हुसैनले आफ्नै एउटा प्रान्तको रुपमा कुवेतलाई हेरेका थिए।

अमेरिका र उसका साझेदार मुलुकहरुको हस्तक्षेप मुख्यतः कुवेतको तेल सुरक्षित गर्ने आवश्यकताबाट र त्यसमा सद्दाम हुसैनको पहुँच रोक्ने उद्देश्यबाट अभिप्रेरित थियो।

सन् १९५३ः इरानमा सत्ता कब्जा

सन् १९५३ मा अमेरिका र ब्रिटेनले गराएको सत्ता कब्जामा तेलको भूमिका रहयो।

दुई मुलुकले निर्वाचित प्रधानमन्त्री मोहम्मद मोस्सादेगलाई सत्ताच्यूत गराए र शाह रेजा पहलवीलाई सत्तामा ल्याए।

सन् १९७९ मा इस्लामिक अतिवादीहरुको हातबाट उनको शासनको लज्जास्पद ढंगले अन्त्य हुन पुग्यो।

मोस्सादेगले गरेको कसुर यही थियो कि उनले ब्रिटिश स्वामित्वको एउटा एंग्लो इरानी तेल कम्पनीलाई राष्ट्रियकरण गरे, जुन ब्रिटिश पेट्रोलियमको अग्रपंक्तिको कम्पनी थियो।

इरानमा पश्चिमा मुलुकहरुविरुद्धको अधिकांश आशंका यही गोप्य राजनीतिक संलग्नताका कारण उत्पन्न भएको हो।

दोस्रो विश्वयुद्ध

दोस्रो विश्वयुद्धलाई प्रायः फासीवादविरुद्धको लडाइको रुपमा ठानिन्छ तर इतिहासकै निकै रक्तपातपूर्ण उक्त द्वन्द्वमा तेलले पनि ठूलो भूमिका खेलेको थियो।

जापानीहरुले अमेरिकाको पर्ल हार्बरमा आक्रमण गरे।

चीनमा जापानी अतिक्रमणलाई लिएर सन् १९४१ मा अमेरिकाले जापानलाई तेल निर्यातमा कटौती गर्ने निर्णय गरेपछि उक्त आक्रमण भएको थियो।

त्यति बेला तेलका लागि जापान पूर्णतः आमेरिकामा निर्भर थियो।

तस्वीर कपीराइट EPA
Image caption रुसले सिरियामा आइएस लडाकुका तेल ट्यांकरहरुलाई पनि निशाना बनाउँदै आएको छ।

आफ्नो नौसेनाका लागि उसलाई तेल चाहिन्थ्यो।

तत्कालीन सोभियत संघमा रहेको तेल धनी अजरबैजानमाथि सन् १९४१ मा जर्मनीले गरेको अतिक्रमण पछाडि तेलकै भूमिका थियो।

त्यसपछि यसरी दक्षिणतर्फ सैनिक कारवाही अघि बढ्दा जर्मनी घेराबन्दीमा पर्यो र स्टालिनग्राडमा उसले हार बेहोर्नुपर्यो।

त्यसपछि युद्धले नै नयाँ मोड लियो।