'खाना पकाउने समय मिलाएर' लोडशेडिङ

  • 4 डिसेम्बर 2015
तस्वीर कपीराइट Reuters
Image caption भारतबाट बिजुली थपिएपछि लोडशेडिङमा राहत हुने अधिकारीहरुको भनाइ छ

खाना पकाउन बिजुलीको सहायता लिनुपरेको बाध्यतालाई ध्यानमा राखेरै लोडशेडिङको नयाँ कार्यतालिका बनाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

शुक्रबारदेखि सातामा ५६ घण्टा लोडशेडिङ हुने तालिका विद्युत प्राधिकरणले सार्वजनिक गरेको छ।

हिउँद चर्किँदै जाँदा नदीहरुमा पानीको मात्रा घट्दै गएकाले बिजुली कम उत्पादन भएको र लोडशेडिङ बढाउनुपरेको प्राधिकरणको भनाई छ।

तर तालिकामा भएको परिवर्तनले खान पकाउने समयलाई समस्या नपार्ने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश राज काफ्ले बताउँछन्।

प्रसारण लाइन

उनी भन्छन्, चार वटा समुहका लागि बिहान आठ बजे सम्म बिजुली उपलब्ध गराउने र अर्को समुहलाई आठ बजे पछि गरेर मिलाएका छौं बेलुका पनि त्यस्तै व्यवस्था गरेका छौं।"

Image caption ग्यासको चरम अभाव भएपछि शहरी क्षेत्रमा इन्डक्शन चुलोको प्रयोग बढेको छ

नदीहरुमा पानीको बहाव घट्दै गएका कारण नदीमा आधारित जलविद्युत आयोजनाहरुले जाडो याममा आफ्नो क्षमता अनुसार बिजुली निकाल्न सक्दैनन्।

भारतसँग सम्झौता भएको थप ९० मेगावाट विद्युत पुष महिनाको सात गते सम्म केन्द्रीय प्रसारण लाईनमा जोड्ने र विद्युत आपूर्तिलाई अझै सहज बनाउने प्रयास भैरहेको कार्यकारी निर्देशक काफ्लेले बताए।

उनले भने "नेपाल तर्फ दुई वटा टावरको काम बाँकी छ अहिलेको गतिरोधले गर्दा अलि काम गर्न समस्या परेको छ हामीलाई अहिले पनि त्यो काम सकेर समयमै थप ९० मेगावाट ल्याउन सक्छौं भन्नेमा लागिरहेका छौं।"

अहिले तत्काल कुनै नयाँ आयोजनाबाट बिजुली थपिने अवस्था नरहेको र निर्माणको अन्तिम चरणमा रहेको माथिल्लो मर्स्याङ्दी 'ए' बाट ५० मेगावाट केन्द्रीय प्रसारण लाईनमा जोडिन अझै तिनदेखि चार महिना लाग्ने प्राधिकरणले जनाएको छ।

सबैलाई सहज विद्युत पुर्याउन अतिआवश्यक परेको बेलामा मात्रै विद्युतिय सामाग्रीको प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ।