अमेरिकामा हुने गोलीकाण्डका आँकडा

  • 4 डिसेम्बर 2015
तस्वीर कपीराइट AFP

विहिबार राष्ट्रपति बराक ओबामाले जथाभावी बन्दूक चलाएर अमेरिकामा हुने गरेका आम हिंसाका घटनाबारे सत्रौं पटक अमेरिकी जनतालाई सम्झाउने प्रयास गरे।

गत अक्टोबरको शुरुमा ओरेगनको स्कूलमा नौ जनाको हत्या र सात जना घाईते भएको घटना यता मात्रै उनले यो मुद्दा चर्चा गरेको यो तेस्रो पटक हो।

उनको राष्ट्रपतिकालमा सोह्रौं पटक भएको त्यस्तो हिंसा गत साता मात्रै थियो, जब कोलोराडो स्प्रिंग्समा तीन जनाको ज्यान गएको थियो।

यसपटक भने घटनास्थल क्यालिफोर्नियाको स्यान बेर्नार्डिनोस्थित एक सार्वजनिक स्वास्थ्य केन्द्र रह्यो। जहाँ हमलाकारीसहित सोह्र जनाको ज्यान गयो भने सत्र जना घाईते भए।

आँकडा

२०१५ मा अमेरिकामा भएका गोलीकाण्ड

३ डिसेम्बरसम्मका आँकडा

३५३

आम गोलीकाण्ड

  • ६२ स्कूल गोलीकाण्ड

  • १२,२२३ गोली प्रहारबाट मारिएका

  • २४,७२२ गोली प्रहारबाट घाईते भएका

AP

आम गोलीकाण्ड: स्यान बेर्नार्डिनोमा भएको आक्रमण यस वर्षको ३५३ औं गोलीकाण्ड हो। चार वा त्योभन्दा धेरैको ज्यान जाने गरी भएका गोली प्रहारको घटनालाई आम गोलीकाण्ड भनिन्छ।

स्कूल गोलीकाण्ड: सन् २०१५ मा मात्रै स्कूल गोली प्रहारका ६२ घटना भएका छन्। सन् २०१२ मा कनेटिकटको स्यान्डी हुक विद्यालयमा भएको घटना यता १६१ त्यस्ता आक्रमण भइसकेका छन्। यी घटनामा गोली चलेको तर कोही घाईते नभएको समेत जोडीन्छन्।

अन्य गोलीकाण्ड: स्कूल गोलीकाण्ड तथा आम गोलीकाण्डका घटना अखबारका समाचार शीर्षकमा छाउँछन्। तर अमेरिकामा गोली प्रहारबाट मारिने अधिकांश घटना साना र समाचारमा नआउने किसिमका हुन्छन्। यो वर्षमात्रै अमेरिकामा बन्दूकको गोली लागि करीब १२,२२३ मानिस मारिएका छन् भने २४,७२२ घाईते भएका छन्।

अमेरिकाको तुलना अन्यसंग: संयुक्त अधिराज्यको तुलनामा अमेरिकामा गोली हानी मारिनेको संख्या ३० गुणाले बढी छ। अमेरिकामा प्रत्येक एक लाख जनसंख्या मध्ये २.९ यसरी मारिन्छन् भने संयुक्त अधिराज्यमा त्यो संख्या केवल ०.१ रहेको छ।

सबै हत्याका घटनालाई जोड्ने हो भने पनि सन् २०१२ मा अमेरिकामा ६० प्रतिशतको हत्या गोली प्रहारबाट भएको थियो भने त्यो संख्या क्यानाडाको हकमा ३१ प्रतिशत, अष्ट्रेलियाको हकमा १८.२ प्रतिशत र संयुक्त अधिराज्यको हकमा १० प्रतिशत थियो।

स्रोत: संयुक्त राष्ट्रसंघ लागुऔषध तथा अपराधसम्बन्धी कार्यालय