फिफाका थप १६ जनाविरुद्ध अभियोग

  • 4 डिसेम्बर 2015
तस्वीर कपीराइट Getty Images
Image caption फिफामा सुधार ल्याउने विषयमा बहस चलिरहेका बेला थप अधिकारीहरुविरुद्ध भ्रष्टाचारको आरोप लागेको छ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफामा भएको भ्रष्टाचारको अनुसन्धान गरिरहेका अमेरिकी अभियोजनकर्ताहरुले थप १६ जना अधिकारीहरुविरुद्ध अभियोग लगाएका छन।

फिफाका दुई अधिकारीहरुलाई स्वीट्जरल्याण्डको जुरिकमा पक्राउ परे लगत्तै सिङटनस्थित अधिकारीहरुले त्यसबारे जानकारी गराएका हुन्।

अभियोग लगाइएकाहरुमा ब्रजिल फुटबल संघका पूर्व प्रमुख समेत रहेका छन।

अभियोग लगाइएकाहरुमध्ये ब्रजिल फुटबल संघका पूर्व प्रमुख रिकार्डो टेइक्सेइरा समेत घुस र आर्थिक लाभ लिने आपराधिक साँठगाँठमा संलग्न भएको आरोप छ।

भूमिका

आरोपितहरुमा फिफाको कार्यकारिणी समितिका वर्तमान र पूर्व सदस्यहरु र होण्डुरसका पूर्व प्रमुख राफेल कालेजास् रहेका छन्।

अमेरिकी महान्यायाधिवक्ता लोरेटा लिन्चको भनाईमा अरोपित फिफा अधिकारीहरुले विगत दुई दशकदेखि विश्व विख्यात खेललाई भ्रष्ट बनाउन विभिन्न भूमिका खेलेका थिए।

त्यस क्रममा उनीहरुले करोडौं डलर घुस तथा अवैध रकम लिएका थिए।

फिफाले अमेरिकी अधिकारीहरुसँग ‘पूर्ण रुपमा’ मिलेर काम गर्ने बताएको छ।

अनियमितता

ब्रजिल फुटबल संघका बहालवाला प्रमुख मार्को पोलो डेल नेरोमाथि पनि आर्थिक लाभ हासिल गर्नका लागि विभिन्न अनियमिततामा संलग्न रहेको आरोप लगाइएको छ।

अमेरिकी महान्यायाधिवक्ता लोरेटा लिन्चले भने, “विश्वासमाथि गरिएको यो धोकाधडी एकदमै निन्दनीय छ यहाँ आरोप लगाइएको भ्रष्टाचारको स्तर अक्षम्य खालको छ।”

यस पटक जुरिकमा पक्राउ गरिएको होटेलबाटै गत मे महिनामा फिफाका थुप्रै अधिकारीहरु पक्राउ परेका थिए।