क्यालीफोर्निया गोलीकाण्ड 'आतंकवादी गतिविधि'

  • 5 डिसेम्बर 2015
तस्वीर कपीराइट Reuters
Image caption क्यालीफोर्नियामा भएको हत्याकाण्डलाई आतंकवादी क्रियाकलापका रुपमा अनुसन्धान थालिएको छ

क्यालीफोर्नियामा चौध जनाको ज्यान गरी भएको गोलीकाण्डलाई अमेरिकी फेडरल ब्यूरो अफ इन्भेष्टिगेशन (एफबीआई)ले आतंकवादी कारवाहीका रुपमा अनुसन्धान अगाडि बढाइएको बताएको छ।

एफबीआईका निर्देशक जेम्स कोमीले गोलीकाण्ड गराएका दम्पती क्रमश: उग्रवादी बन्दै गएको संकेत मिलेको बताउँछन्।

उनी भन्छन् - 'अहिलेसम्म यि हत्याराहरु कुनै ठूलो या व्यवस्थित आतंकवादी संस्थाको सदस्य भएको संकेत मिलेको छैन।'

सत्ताइस वर्षीय तशफीन मलिक र उनका २८ वर्षीय श्रीमान सैयद रिजवान फारुक सान बर्नार्डिनोमा मानिसहरु मारेपछि प्रहरीसँग भएको गोली हानाहानमा मारिएका थिए।

बानीबेहोरा

एउटा सामाजिक सेवा केन्द्रमा गरिएको उक्त गोलीकाण्डमा चौध जना मारिएका थिए।

आक्रमणकारीका परिवारका वकिलले पनि ति दुवैजना कुनै लडाकू समुहको सदस्य रहेको प्रमाण नभेटेको बताएका छन्।

एउटा पत्रकार सम्मेलनमा उनीहरुले परिवारलाई उदृत गर्दै भने- "सैयद फारुक र उनकी श्रीमती तशफीन मलिकले यस्तो हिंसात्मक आक्रमण गराउन सक्लान् भन्ने कहिल्यै शंका थिएन।"

काममा सहकर्मीले फारुकको दाह्रीको खिल्ली उडाउँदा पनि उनले सामान्य रुपमै लिने गरेको र उनकी श्रीमती अरुको हेरचाह गर्ने नरम स्वरमा बोल्ने गृहिणी थिइन् भन्ने परिवारको भनाइ छ।

अनुसन्धान प्रारम्भिक चरणमा रहेको निर्देशक कोमीले बताएका छन्।

यस अघि एफबीआई प्रवक्ताले श्रीमती मलिकले इश्लामिक स्टेटको समर्थन गरेको भन्ने बारे अनुसन्धान भइरहेको बताएका थिए।

मलिकले फरक नाममा फेसबुकमा आइएसका नेता अबु बकर अल बग्दादीको समर्थन गरेको सन्देश जारी गरेको बताइएको थियो।अहिले उक्त सन्देश हटाइएको छ।

फारुकका परिवारका वकिलले शुक्रबार फारुक थोरै मात्र साथीभाइ भएका र अरुसँग खासै घुलमिल नहुने व्यक्ति थिए भनेका छन्।

विष्फोटक पदार्थ

परिवारका वकिलहरुले फारुकसँग दुइवटा बन्दुक रहेको र उनका सहकर्मीले उनको दाह्रीको खिल्ली उडाउने गरेको आफुहरुलाई थाहा भएको बताएका थिए।

सामाजिक सेवा केन्द्रमा बुधबार आक्रमण गरेपछिको अनुसन्धान क्रममा ती दम्पतीको घरमा बम उपकरण हतियार र हजारौं गोलाबारुद भेटिएको थियो।

गोलीकाण्ड भएको ठाउँमा फोहोर फ्याँक्ने भाँडामा फुटाएर फ्याँकिएका दुइ मोबाइल फोनबाट तथ्यांक बचाउने प्रयास गरिरहेको एफबीआईको भनाइ छ।