मोर्चाका शीर्ष नेता दिल्ली जाने

  • 5 डिसेम्बर 2015
baluwatar talks
Image caption मोर्चाका नेताहरु दिल्ली जानु एक दिनअघि प्रमुख तीन दलसंग वार्तामा बसेका थिए (फाइल फोटो)

सीमा नाका अवरोध र नेपालको पछिल्लो राजनीतिक तनावमा तानिएको छिमेकी भारतका उच्चनेताहरुसंग भेटघाटका लागि भन्दै तराईमा आन्दोलनरत पक्षका शीर्ष नेताहरु आइतबार दिल्ली जाने भएका छन्।

प्रमुख तीन दलले सीमांकन तथा संविधान संशोधनबारे साझा धारणा तय गरेको दुईदिनपछि हुन लागेको आन्दोलनकारी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरुको भारत भ्रमणलाई निकै अर्थपूर्ण ठानिएको छ।

मोर्चाका नेताहरुले पछिल्लो राजनीतिक अवस्थाबारे विचार आदानप्रदानका लागि दिल्ली जान लागेको भन्दै त्यहां भारतीय प्रधानमन्त्री, विदेशमन्त्री, प्रमुख विपक्षी दलका नेता लगायतसंग भेट हुने बताएका छन्।

उक्त भ्रमणको एक दिनअघि मोर्चाका नेताहरु प्रमुख तीन दलसंग प्रधानमन्त्री निवास बालुवाटारमा वार्तामा बसेका थिए।

'निम्तो होइन'

प्रमुख तीन दलले सीमांकन तथा पूर्ववर्ती सरकारले ल्याएको संविधान संशोधन अघि बढाउनेसम्बन्धमा साझा धारणा तय गरिरहंदा आन्दोलनकारी पक्षका नेताहरु दिल्ली दौडाहामा जाने अनुमानहरु बाहिर आउन थालिसकेका थिए।

ती अनुमानलाई शनिबार औपचारिकता दिदैं आन्दोलनकारी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आइतबारबाट आफ्ना चार शीर्ष नेताले दिल्लीमा उच्चस्तरीय भेटवार्ताहरु थाल्न लागेको जानकारी दिएको हो।

तराई मधेश सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष रामनरेश रायले भने, “हामीलाई भारतले निम्तो दिएको होइन, हामी आफै जान लागेको हो। दिल्लीमा पछिल्लो राजनीतिक अवस्थाबारे विचार आदानप्रदान हुन्छ”।

मोर्चाका नेताहरुले दिल्ली बसाइको अवधिबारे मुख खोलेका त छैनन्, तर उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वाराज, प्रमुख विपक्षी दल कंग्रेस आइकी अध्यक्ष सोनिया गान्धी लगायतसंग भेटघाट हुने बताएका छन्।

शंका

भारतीय पक्षले भने मोर्चाका नेताहरुको भ्रमण र भेटघाटबारे औपचारिक रुपमा केही पनि बताएको छैन।

तथापि उक्त भ्रमणअघि भारतीय राजदूत रन्जीत रेले राजनीतिक परामर्श तीव्र पार्दै प्रधानमन्त्री केपी ओली र एकीकृत माओवादी अध्यक्षसंग शनिबारै छुट्टाछुट्टै भेटेका छन्।

भेटबारे ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने, “अघोषित नाकाबन्दी, तराई आन्दोलनले पारेको अवरोध कसरी हल गर्ने भन्ने विषयमा छलफल भएको हो”।

ओली र प्रचण्डसंगको भेटमा राजदूत रेले तीन दलको पछिल्लो साझा धारणाप्रति भारतीय पक्ष सकारात्मक रहेको पनि बताएको ती दुई नेता निकट सहयोगीहरुले जनाएका छन्।

तर जानकारहरु भन्छन्, दिल्ली दौडाहामा निस्कन लागेका आन्दोलनकारी नेताहरु स्वदेश नफर्किएसम्म भारतीय पक्ष सकारात्मक रहेको वा नरहेको भन्नेबारे निष्कर्षमा पुग्न चांडो हुनेछ।